• १ भदौ २०८१, शनिबार

तनहुँमा डेङ्गी सङ्क्रमित एक हजार नाघे

blog

दमौली (तनहुँ), भदौ १ गते । तनहुँमा डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । यहाँ शुक्रबारसम्म एक हजार ८२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका सूचना अधिकारी सुदीप कँडेलले पछिल्लो दुई दिनमा मात्रै यहाँ एक सय आठजनामा सङ्क्रमण देखिएको र कुल सङ्क्रमितमध्ये आठ सय १३ जना आँबुखैरेनी गाउँपालिकामा रहेका जानकारी दिनुभयो । 

यस्तै, व्यास नगरपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा एक सय २०, भिमाद नगरपालिकामा चार, म्याग्दे गाउँपालिकामा सात र बन्दीपुर गाउँपालिकामा ५१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । डेङ्गी सङ्क्रमण बढेपछि आँबुखैरेनी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियानलाई तीव्रता दिएको छ । आँबुखैरेनी गाउँपालिका-३ का विभिन्न टोलमा पुगेर लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँको खोजी गरी नष्ट गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेङ्गी सङ्क्रमण बढ्दै गएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो । यहाँ आँबुखैरेनी अस्पतालले लक्षित वर्गलाई डेङ्गी सङ्क्रमणमा निः शुल्क उपचार गर्ने निर्णय गरेकाले समयमै स्वास्थ्य परीक्षण गराउन पनि उहाँले आग्रह गर्नुभयो । “गरिब तथा आर्थिक रूपले विपन्न, नवजात शिशु, गर्भवती, सुत्केरी, बेवारिसे, अपाङ्गता, सहाराविहीन अशक्त एवम् अपाङ्गता तथा ज्येष्ठ नागरिकलाई औषधि र आवश्यक परेमा अस्पतालमा भर्नालगायत सम्पूर्ण खर्च गाउँपालिकाको सिफारिसमा व्यहोरिने निर्णय भएको छ”, अध्यक्ष चुमानले भन्नुभयो । रासस