• १ भदौ २०८१, शनिबार

मुलुकमा छिट्टै शतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छः कार्यकारी निर्देशक घिसिङ

blog

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ।

काठमाडौँ, भदौ १ गते। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा शतप्रतिशत विद्युतिकरण घोषणा हुने बताउनुभएको छ।

शनिबार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा शतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताउनुभएको हो। 

उहाँले ८ वर्षअघि करिब ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताउनुभयो। 

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताउनुभयो। उहाँले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी दिनुभयो। 

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताउनुभयो। उहाँले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि बताउनु भयो।