• १ भदौ २०८१, शनिबार

मृतक तथा बेपत्ताका परिवारलाई राहत प्रदान

blog

कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रालिमा आश्रय लिएका बाढी पीडित परिवारहरू । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १ गते । रुकुम पश्चिममा मनसुनजन्य विपद्को कारण मृत्यु भएका र बेपत्ता भएका परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका नजिकका हकदारलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो । 

कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार विपद् पीडित उद्धार र राहत सम्बन्धी (सातौँ संशोधन) मापदण्ड, २०७७ बमोजिम राहत उपलब्ध गराइएको हो । पीडितको निवेदन तथा स्थानीय तहको सिफारिस पश्चात् राहत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । 

गत असार ३१ गते रातिको अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता हुनुभएको थियो । सोही नगरपालिका –१२ निवासी ८ वर्षीया धनिषा पुन र १० वर्षीया हितमाया पुन र वडा नम्बर ९ निवासी ४ वर्षीय मनीषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्बर १२ निवासी ३७ वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको थियो । त्यसैगरी साउन ३ गतेका दिन वडा नम्बर १२ कै ५५ वर्षीय चन्द्र बहादुर पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो । 

मृतक तथा बेपत्ताका नजिकका कानुनी हकदारलाई जिल्ला विपद् कोषबाट जनही २ लाखको दरले राहत उपलब्ध गराइएको हो । मृतक धनिषा र हितमाया एकाघरको भएकोले मापदण्ड अनुसार ३ लाख रुपियाँ राहत दिएको हो भने अन्य सबैलाई दुई लाखको दरले राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जनाएको छ । 

मृतक तथा बेपत्ताका कानुनी हकवालाको बैङ्क खातामा उक्त राहत रकम जम्मा गरिएको हो । मृतक मनीषाका बुवा लालबहादुर सार्कीले महिना दिनपछि राहत पाइएको बताउनुभयो । उक्त घटनामा परेर विस्थापित भएका यहाँका २२ घर परिवार भने अझैसम्म काष्ठ उद्योग र कर्णाली वेभरेज ईन्डष्ट्रिज प्रालिको परिसरमा आश्रय लिएका छन् । उनीहरूले सुरक्षित आश्रयस्थल र राहत सामाग्री व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन् । पीडित परिवारहरूलाई आठबिसकोट नगरपालिकाले विभिन्न संघसस्थाको सहकार्यमा किरिया खर्च र खाद्यान्न सामाग्री सहयोग गरेको थियो भने नेपाल रेडक्रस सोसाइटी रुकुमपश्चिमले त्रिपाल, कम्बल लगायतका सामाग्री व्यवस्थापन गरेको थियो ।