• १ भदौ २०८१, शनिबार

आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो

blog

डुम्रे (तनहुँ), भदौ १ गते । पछिल्लो समय जिल्लामा मानव वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । वन्यजन्तुबाट मानिसका बालबालिकालाई जोगाउन समस्या हुँदै गएको हो । विगत आठ वर्षयता जिल्लामा १४ बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका डिभिजन वन कार्यालयले जनाएको छ ।

गत असार १२ गते आफ्नै बारीमा घाँस काट्दै गोका म्याग्दे गाउँपालिका-२ का मानबहादुर गर्जा मगरलाई चितुवाले आक्रमण गरी ज्यान लिएको वन कार्यालयका सहायक डिभिजन वन अधिकृत नवीन विश्वकर्माले जानकारी दिनुभयो । पछिल्लो आठ वर्षको तथ्याङ्कअनुसार जिल्लामा चितुवाको मानवमाथिको आक्रमण वृद्धि हुँदै छ । वि.सं.२०७९ भदौमा व्यास नगरपालिका-११ राति डिल्लीमाया गुरुङ र शङ्कर गुरुङलाई घरको पिँढीमा चितुवाले आक्रमण गरी घाइते बनाएकामा छोरा शङ्करको ज्यान गयो । 

सोही वर्षको कात्तिक ४ गते बन्दीपुर गाउँपालिका-३ का चन्द्रबहादुर घर्तीको छोरी डिना चेपाङलाई घरको आँगनमा खेलिरहेको बेला आक्रमण गरी ज्यान गएको विश्वकर्माले जानकारी दिनुभयो । सोही वर्षको कात्तिक १५ गते व्यास-१२ छिर्कनका चित्रबहादुर कुँवर थापाको नाति सात वर्षीय अभिनव कुँवर, जेठ २९ गते बन्दीपुर-१ का भिमलाल गरौजा पिँढीमा सुतिरहेको अवस्थामा चितुवाको आक्रमणबाट घाइते हुनुभएको थियो । घाइते गरौजाको उपचारको क्रममा मृत्यु भएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताउनुभयो ।

साथै २०७८ असोजमा बन्दीपुर-५ बाहुनभञ्ज्याङका आठ वर्षीया बालिका सुप्रिती थापाको चितुवाको आक्रमणबाट ज्यान गएको थियो । डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार वि.सं.२०७७ साउनमा शुक्लागण्डकी नगरपालिका-२ का नारन राना, २०७६ माघमा बन्दीपुर-४ का ११ वर्षीय ईसाक परियार, सोही वर्षको पुसमा आँबुखैरेनी गाउँपालिका-१ का आठ वर्षीय पूजन सिञ्जाली र शुक्लागण्डकी-३ का एक वर्ष नौ महिनाका बालक रविन नेपालीको चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०७६ कात्तिकमा भानु नगरपालिका-२ का ऋतिक रोका, असोजमा भानु-१ का कुशल बानियाँ, जेठमा भानु-२ का आठ वर्षीया बालिका पुष्पा अधिकारी, २०७५ मङ्सिरमा भानु-२ का १० वर्षीय अमृत गुरुङ, कात्तिकमा भानु-४ का चार वर्षीया रञ्जिता लम्साल र २०७४ फागुनमा भानु-२ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाले ज्यान लिएको थियो । 

वि.सं.२०७९ असारमा बन्दीपुर-१ प्युघरका प्रेमबहादुर बगाले मगरको पाँच वर्षीय छोरा सुप्रिम थापा चितुवाको आक्रमणबाट घाइते भएका थिए । विश्वकर्माले जिल्लामा वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब आठ वर्षयता चितुवाको आक्रमणबाट मात्रै १४ बालबालिकाले ज्यान गुमाएको डिभिजन वनको तथ्याङ्कमा उल्लेख छ । भालु, बाँदरको आक्रमण पनि बढ्दै गएको छ ।” 

सहायक डिभिजन वन अधिकृत विश्वकर्माका अनुसार २०८० जेठ ४ मा व्यास-८ का गोरे विकले भालुलाई धपाउने क्रममा आक्रमणमा परी घाइते हुनुभएको थियो । भालु, बाँदर र चितुवाको आक्रमणबाट १७ जना घाइते भएका घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ । “कानुनीरुपमा मानवसँगै हरेक प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । वन्यजन्तुको वासस्थान र आहाराको अभावले मानवमाथिको आक्रमण बढ्दै गएको हो”, उहाँले भन्नुभयो ।

वन्यजन्तुका लागि वनजङ्गलमा पर्याप्त आहार नहुनु र वासस्थानको नजिक मानव बस्ती बस्दै जानुले मानव वन्यजन्तुको द्वन्द्व बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माको बुझाइ छ । यसको न्यूनीकरणका लागि डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन, कवुलियती वन, राष्ट्रिय वनका सरोकार भएकासँग वन्यजन्तुलाई आवश्यक आहार संरक्षण तथा वृक्षारोपण गर्न प्रोत्साहन गरिरहेको उहाँले बताउनुभयो । 

चितुवा, भालु र बाँदरको आक्रमण बढेकाले बालबालिकालाई एक्लै नछाड्न र घर वरपर सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको कार्यालयले जनाएको छ । “विगतमा चितुवाको आक्रमण अत्यधिक भएको समयमा क्यामरा ट्रयापिङमार्फत अवलोकन गरिएको थियो । उक्त समयमा भानुका जङ्गलमा चितुवा बाहेक अन्य वन्यजन्तु देखिएका थिएनन् । आहार, वासस्थान र पानीको खोजीमा मानव बस्ती पसेपछि मानवमाथि आक्रमण गर्न थालेका हुन्”, सहायक डिभिजन वन अधिकृत विश्वकर्माले भन्नुभयो । विगतको तुलनामा अहिले मानव वन्यजन्तुको द्वन्द्वमा कमी आएको उहाँले जानकारी दिनुभयो ।

वनजङ्गल नजिक बस्ती उचित नहुने भन्दै अव्यवस्थित मानव बस्ती बढ्नाले वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको सहायक डिभिजन वन अधिकृत विश्वकर्माले बताउनुभयो । यसको न्यूनीकरणका लागि मानव सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “वन्यजन्तुको आहार, पानी, वासस्थानको व्यवस्था र संरक्षणका विषयमा मानव सचेत भई वन्यजन्तुको आहारलाई मानवले उपयोग नगर्ने हो भने समस्या समाधान हुँदै जानेछ”, उहाँले भन्नुभयो । रासस