• ११ मंसिर २०८१, मङ्गलबार

बुटवलको मुख्य बजारमा डुबान समस्या

blog

बुटवल समाचारदाता

बुटवल, भदौ १ गते  । बुटवलको मुख्य बजार अमरपथ क्षेत्र ठुलो पानी पर्दा डुबानमा पर्न थालेपछि डुबान रोक्न वैकल्पिक उपायको खोजी भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको अमरपथ र आसपासका क्षेत्रको डुबान रोक्न वैकल्पिक उपाय खोजी गर्ने निर्णय गरेको हो ।

बुटवलमाथिको चुरे क्षेत्रमा ठुलो पानी आउँदा बुटवलकै मुख्य बजार अमरपथ डुबानमा पर्न थालेपछि यहाँका व्यवसायी चिन्तित छन् । व्यवसायीले यस्तै समस्या उत्पन्न भइरहे अमरपथ क्षेत्रमा व्यवसाय चलाउन गाह्रो हुने बताए । व्यवसायी अकरम खानले यो वर्ष अमरपथ क्षेत्र दुई पटक डुबानमा परिसकेकाले अब व्यवसाय गर्न गाह्रो हुँदै गएको बताउनुभयो । डुबान क्षेत्र अनुगमन गर्दै बुटवल उपमहानगरपालिकाले सो क्षेत्रको डुबान समस्या समाधानका लागि वैकल्पिक उपाय खोजी गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडाध्यक्ष र प्राविधिकसहितको टोलीले इलाका प्रहरी कार्यालयदेखि तिनाउ नदीसम्मको नाला र अमरपथ हुँदै कृषि मन्डीतर्फको नाला अनुगमन गरेको हो । त्यस क्रममा केही सङ्घ संस्थाले नाला र नहरमाथि बनाएका संरचनाका कारण पानीको निकासमा अवरोध भएको र अमरपथदेखि कृषि मन्डीतर्फको नालाको वास्तविकता यकिन गर्न नसकिने भएकाले निकासमा समस्या देखिएको बताए । 

नगरप्रमुख खेलराज पाण्डेयले विगतमा अमरपथदेखि बस्तीमुनिबाट मुख्य राजमार्ग कृषि मन्डी हुँदै तिनाउमा खस्ने पानीको निकासमा समस्या देखिएकाले अमरपथ क्षेत्र डुबान हुने गरेको पाइएको बताउनुभयो । उहाँले कतिपय स्थानमा नहरमाथि संरचना बनाइएकाले त्यस्ता संरचनाका कारण बाढी आउँदा ‘ओभरफ्लो’ भएर सडकमा पानी जम्मा हुने गरेको बताउँदै अमरपथको उत्तर पुलमुनिबाट कसरी पानी जाने निकास बनेको छ र त्यसको अवस्था के कस्तो छ भन्ने हेर्न गाह्रो रहेको बताउनुभयो । 

प्रमुख पाण्डेयका अनुसार त्यसबेला संरचना बनाउँदा सरसफाइ गर्न सकिने गरी नबनाइएका कारण पटक पटक डुबान भइरहेको छ । बुटवल उपमहानगरले सडक र बस्तीको बिचबाट लगिएको निकासका बारेमा अध्ययन गर्ने, सम्भव हुने स्थानसम्म सरसफाइ गर्ने र सहज विकल्प खोज्ने गरी योजना बनाउने निर्णय गरेको छ । नगरप्रमुख पाण्डेयले इलाका प्रहरी कार्यालयनजिकैबाट तिनाउमा पानी खस्ने गरी बनाइएको संरचना पनि सडकमुनिबाट रहेकाले त्यसको सरसफाइ गर्ने र केही पानी त्यहाँबाट बग्न सक्ने गरी व्यवस्था मिलाउने बताउनुभयो ।