• ३२ साउन २०८१, शुक्रबार

खुम्बु क्षेत्रमा ताल फुट्यो : दुधकोशीमा बाढीको जोखिम

blog

शेरबहादुर राई

ओखलढुङ्गा, साउन ३२ गते । सोलुखुम्बुको थामे गाउँमा आएको बाढीका कारण ओखलढुङ्गाको दुधकोशी किनारका बस्तीमा जोखिम देखिएको छ । दुधकोशी किनारका बासिन्दालाई जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले एक सूचना सार्वजनिक गरेर सतर्क रहन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले सोलुखुम्वुको जोरसल्ले देखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरुलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेकोले ओखलढुङ्गाका सम्भावित जोखिम युक्त क्षेत्रका नागरिकलाई यथासक्य सुरक्षित स्थानमा जान ओखलढुङ्गा प्रशासनले आग्रह गरेको हो । 

जिल्लाको दुधकोशी तटीय क्षेत्रहरू कुइभिर, दियाले, पोखरे, रबुवाघाट, भदौरे, तलुवा, मोली, वाक्सा, उवु, जयरामघाट र सोक्माटार क्षेत्रमा जोखिम हुन सक्ने भएकाले प्रशासनले आपत्कालिन विज्ञप्ती जारी गर्दै सचेत गराएको छ । 

शुक्रबार दिउँसो सोलुखुम्बुको दुधकोशीको सहायक खोला थामे खोलामा आएको बाढीले थामे गाउँलाई क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार हिमताल फुटेर बाढी आएको हुनसक्ने आशंका गरिएको छ ।