• ३२ साउन २०८१, शुक्रबार

मधेशका मुख्यमन्त्री र मन्त्रीहरूबिच कार्यसम्पादन करार सम्झौता

blog

मुख्यमन्त्री सतिश कुमार सिंहसँग कार्य सम्पादन करार सम्झौता गर्दै मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राज कुमार लेखि । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा  
जनकपुरधाम, साउन ३२ गते ।
 मधेश प्रदेशका मन्त्रीहरूले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आयोजित एक कार्यक्रमबिच मधेश प्रदेश सरकारका मन्त्रीहरू र मुख्यमन्त्रीबिच दुई पक्षीय सम्झौता भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारले जनतालाई प्रवाह गर्ने सेवालाई सहज, सरल र प्रभावकारी बनाउनका लागि आर्थिक वर्ष २०८१/०८२मा प्रदेश सरकारद्वारा नीति र कार्यक्रममार्फत प्रतिबद्धता जनाएका कार्यहरू सामयिक र व्यवस्थित कार्यान्वयन गरी नतिजामूलक कार्यसम्पादनको माध्यमबाट मधेशका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यो कार्यसम्पादन करार गरिएको बताउनुभयो ।

करारमा उल्लेखित कार्यक्षेत्रमा मुख्य मुख्य कार्यसम्पादन सूचकहरू पहिचान गरी तोकिएका क्षेत्रहरूमा सर्वसाधारण प्रदेशवासीले बुझ्न र अनुभूति गर्न सक्ने गरी मुख्य नतिजा क्षेत्रहरू समेत निर्धारण गर्न करारले करारका दुवै पक्षलाई स्पष्ट दिशाबोध गर्न सकिने गरी दिशा निर्देश गर्ने मुख्यमन्त्री सिंहले बताउनु भयो ।

उहाँले मन्त्रीहरूलाई आफ्नो मन्त्रालयका कार्यसम्पादन सूचकहरू पहिचान गरी प्रयोग गर्न र मुख्य नतिजा क्षेत्रहरू निर्धारण गरी मापन योग्य कार्यसम्पादन गर्न यस करारले जिम्मेवार र जबाफदेहिता बनाउने बताउनुभयो । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री बाहेक सबै मन्त्रीले कार्य सम्पादन करार सम्झौता गर्नुभएको छ । श्रम तथा यातायात मन्त्री एक कार्यक्रममा सहभागी हुन जनकपुरधामभन्दा बाहिर रहेकाले उहाँ आउन बित्तिकै कार्यसम्पादन करार सम्झौता गर्ने मुख्यमन्त्री सिंहले बताउनुभयो ।