• ३२ साउन २०८१, शुक्रबार

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा

blog

मध्यविन्दु (नवलपरासी),  साउन ३२ गते । बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको सांस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।   

सीका नेवा: गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेको हो । लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो ।  

सीका नेवा: गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो । गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष पनि लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  “गाईजात्रामा बजाउनुपर्ने  धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तालिम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तन्तरण गर्दछौँ”, उहाँले भन्नुभयो । 

बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताउनुभयो ।  नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने  चलन रहेको जानकारी उहाँले दिनुभयो । रासस