• १६ भदौ २०८१, आइतबार

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली

blog

फिक्कल (इलाम),  साउन ३२ गते । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित लागूपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागूपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।

प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तर्क्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तर्क्रिया, विभिन्न टोल तथा विद्यालयमा लागूपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।

लागूपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगत गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताउनुभयो । “पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरूका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुर्व्यसनबाट अलग गराई समाजमा पुनः स्थापनाको प्रयास भएको छ, “उहाँहरू समाजमा पुनः स्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गराई समाजमा पुनः स्थापना गरिनेछ”, अध्यक्ष केरुङले भन्नुभयो । 

वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्‍याइने उहाँले बताउनुभयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरूको प्रदर्शनी, लागूपदार्थ र लागुऔषधले गर्ने हानी बारे जानकारी दिइने बताउनुभयो ।

खुला सीमाका कारण भारतीय बजारबाट लागूपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्‍याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ । 

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा एक लाख ३० हजार चार सय २४ जना लागू औषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरू १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो । 

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन् भने तीमध्ये तीन करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् । रासस