• ३२ साउन २०८१, शुक्रबार

जनतालाई अनुभूति हुने गरी काम गर्न आग्रह

blog

धनगढी समाचारदाता

धनगढी, साउन ३२ गते । सत्तापक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यले गरिबीको भुमरीमा रहेका प्रदेशवासीलाई सरकार भएको अनुभूति हुने गरी काम गर्न आग्रह गरेका छन् । बहुआयामिक गरिबीका कारण स्वास्थ्य, शिक्षा, रोजगारीको अवस्था दयनीय रहेको औँल्याउँदै उनीहरूले जनताले सरकार भएको अनुभूति हुने गरी काम गर्न आग्रह गरेका हुन् । प्रदेश सरकार प्रदेशवासी जनताको आशा र भरोसा बन्नुपर्नेमा उनीहरूको जोड छ । 

सत्तारूढ दल नेकपा (एमाले) को संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समृद्धिका लागि अवधारणागत रूपमा अगाडि बढ्न जरुरी रहेको औँल्याउनुभयो ।

विनियोजन कुशलता र खर्च दक्षता अभिवृद्धिका लागि कर्मचारीतन्त्रलाई विश्वासमा लिएर प्रदेश सरकार अगाडि बढ्न आवश्यक रहेको रावलको भनाइ थियो । प्रथम चौमासिकभित्र योजना छनोटको काम गरिसक्नुपर्ने सुझाव उहाँले राख्नुभयो । अस्थिरता र अराजकता चिर्न नयाँ गठबन्धन बनेको स्पष्ट पार्दै रावलले थप्नुभयो, “यो गठबन्धन लोकतन्त्र र गणतन्त्रको आधार खोज्नका लागि बनेको हो ।”

सत्तारूढ दल नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता घनश्याम चौधरीले पहाडका कुनाकन्दरादेखि तराईको ग्रामीण क्षेत्रका जनता अहिले पनि ठुलो समस्यामा रहेको बताउनुभयो । “हुन त मुख्यमन्त्रीले चार वटा निर्णय गरिसक्नुभएको छ,” चौधरीले थप्नुभयो, “ती निर्णय छिट्टै कार्यान्वयन होस् ।” सरकारले बनाएका गुरुयोजना बजेटमा देखिनुपर्ने भनाइ उहाँको थियो । 

प्रदेशको समृद्धिका लागि सबै एक हुनुपर्ने सत्तापक्षको जोड छ । यो प्रदेशमा बिचौलिया हाबी भइरहेको भन्दै सरकारलाई सतर्क रहन पनि सत्तापक्षका सदस्यले आग्रह गर्नुभएको छ । बिचौलियाका योजना छनोट हुने कार्यलाई वर्तमान सरकारले सुधार गर्नुपर्ने औँल्याइएको छ ।

नेपाली कांग्रेसका मुख्य सचेतक विक्रमसिंह धामीले बिचौलियाको सिफारिसमा योजना राख्ने प्रक्रिया सुधार हुन नसके जनताका लागि सबैभन्दा ठुलो दुर्भाग्य हुने बताउनुभयो । सत्तापक्ष र प्रतिपक्ष बेलैमा सच्चिन जरुरी रहेको औँल्याउँदै उहाँले भन्नुभयो, “यति योजना दिनुस्, तपाईंको खातामा छ लाख रुपियाँ हालिदिन्छौँ भनेर मलाई नै दिनकै मान्छेले फोन गर्ने गरेका छन् । बिचौलियाका कारण प्रदेश कङ्गाल भएको छ । यसमा सुधारतर्फ प्रदेश सरकारले ध्यान दिनु पर्छ ।”

बिचौलियाको चलखेल नेता, मन्त्री र सरकारले रोक्न नसक्नु दुर्भाग्य रहेको भन्दै धामीले सदनबाटै एउटा निर्णय गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि आग्रह गर्न जरुरी रहेको बताउनुभयो । 

मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि १४ महिना मुख्यमन्त्रीका रूपमा काम गर्दा प्रदेशको हिमाली जिल्लामा एउटा पनि बहुवर्षीय योजना नगएको प्रतिपक्षको आरोप छ भन्नुभयो । चरम भोकमरी, बेरोजगारी समस्या भोगिरहेको हिमाली जिल्ला दार्चुला, बाजुरा र बझाङलाई प्राथमिकतामा राखेर योजना र बजेट बनाउन आवश्यक रहेको नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता मानबहादुर धामीले बताउनुभयो । उहाँले यसअघि मुख्यमन्त्री शाहको १४ महिने कार्यकालमा कैलालीको निर्वाचन क्षेत्रमा मात्रै १९ वटा बहुवर्षीय योजना हाल्नेबाहेक अरू केही काम नभएको आरोप लगाउनुभयो । 

प्रदेश सरकारले अब सेटिङको गन्ध नआउने गरी काम गर्नुपर्ने सुझाव उहाँको छ । प्रदेशवासी पीडामा रहेका कारण उनीहरूको घाउमा मलम लगाउने गरी सरकारले काम गर्नुपर्ने औँल्याइएको छ । 

“जनता एक किलो चामलका लागि लाइन लाग्नुपर्ने बाध्यता छ,” प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश रावलले भन्नुभयो, “बाढीपीडित, आरक्षपीडित पीडामा छन् । सरकारले मलम लगाउने काम गर्नु पर्छ,  विपत् व्यवस्थापन र पीडितलाई राहत वितरणमा सरकारले विशेष ध्यान दिनु पर्छ ।” 

त्यस्तै स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीले आर्थिक र सामाजिक सङ्क्रमणलाई बुझेर प्रदेश सरकार अगाडि बढ्न आवश्यक रहेको औँल्याउनुभयो । प्रदेश सरकार उपभोक्ता समितिभन्दा फरक नदेखिएको भन्दै उहाँले सङ्घीयता बलियो बनाउन दृष्टिकोण बदल्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।