• ११ मंसिर २०८१, मङ्गलबार

कफी प्रशोधन केन्द्र सञ्चालन

blog

राधा नेपाली 

सन्धिखर्क, साउन ३२ गते । अर्घाखाँचीमा कफी उत्पादन वृद्धि हुन थालेपछि कफी प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । बन्जाडे कृषि नर्सरी फार्मले प्रधानमन्त्री कृषि आधुनिकीकरकण परियोजनाको सहयोगमा सन्धिखर्क नगरपालिका–८, किमडाँडामा प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको हो । 

यसअघि उत्पादित कफी प्रशोधन नगरी बिक्री गर्दै आएका किसानले अब भने जिल्लामा प्रशोधन गरेर बिक्री गर्न थालेका छन् । जिल्लामा उत्पादन भएको कफीलाई जिल्लामै प्रशोधन गरी बिक्रीवितरण गर्न प्रशोधन केन्द्र सञ्चालन गरिएको कफी व्यवसायी पुष्कर बन्जाडेले बताउनुभयो । 

परियोजनाका अनुसार जिल्लामा ४० देखि ४५ मेट्रिक टन ‘फ्रेस’ कफी उत्पादन हुन्छ भने सात मेट्रिक टन ‘पार्चमेन्ट’ कफी उत्पादन हुँदै आएको छ । थप खेती गरिएकाले उत्पादनमा वृद्धि हुने परियोजना कार्यालय अर्घाखाँचीले जनाएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको आर्थिक वर्ष २०८०/८१ को कफी जोन कार्यक्रम अन्तर्गत कृषि यान्त्रिकीकरण तथा कफी प्रशोधन कार्यक्रमको आर्थिक सहयोगमा प्रशोधन केन्द्र सञ्चालन गरिएको हो । जसबाट १६ लाख रुपियाँको रोस्टर मेसिन, कफी हलर र ग्रान्डर मेसिन खरिद गरिएको बन्जाडेले बताउनुभयो । परियोजनाले कफी उत्पादन, प्रशोधन र बजारीकरणका लागि किसानलाई तालिम तथा अवलोकन भ्रमण गराइएको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना अर्घाखाँचीका प्रमुख विष्णु मग्रातीले जानकारी दिनुभयो । 

तयारी कफी १५ मेट्रिक टन उत्पादन हुन थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउने लक्ष्य राखिएको छ । हाललाई भने जिल्लामा बढी भएको कफी गुल्मी जिल्लाका सहकारीलाई बिक्री गर्ने सम्झौता भइसकेको मग्रातीले बताउनुभयो ।

अर्घाखाँची कफी उत्पादनका लागि उपयुक्त हावापानी भएको जिल्ला मानिन्छ । हाल जिल्लामा पाँच सयभन्दा रोपनीभन्दा बढी जग्गामा कफी खेती गरिएको छ ।