• ३२ साउन २०८१, शुक्रबार

सीमावर्ती बजारका व्यापारीको ओइरो

blog

सर्लाही समाचारदाता

सर्लाही, साउन ३२ गते । मधेश प्रदेशको प्रमुख थोक तरकारी बजारका रूपमा परिचित पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी तरकारी बजारमा केही दिनदेखि सीमावर्ती क्षेत्रका व्यापारीको ओइरो लागेको छ । 

वर्षापछि डुबानमा परेर दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएसँगै सीमावर्ती क्षेत्रका व्यापारी तरकारी खरिद गर्न उत्तरी भेगस्थित लालबन्दी बजारमा ओइरिएका हुन् । सीमावर्ती क्षेत्रबाट ठुलो सङ्ख्यामा तरकारी किन्न लालबन्दी बजार आइपुगेका व्यापारीबिच बिहान सबेरै किसानले साइकल र मोटरसाइकलमा ल्याएको तरकारी किन्न हानाथाप हुने गरेको छ । 

केही दिन ठुलो पानी परेर रोकिएपछि अहिले चर्को घाम लाग्न थालेसँगै बाँकी भएका तरकारीका बोट पनि मर्न थालेको छ । कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरनबहादुर मगरले दक्षिणी भेगमा तरकारी बाली धेरै नै नष्ट भएकाले नाकाछेउबाट आएका व्यापारीले खोसाखोस गरी तरकारी किनेर लगिरहेको जानकारी दिनुभयो । 

‘वर्षाले तरकारी नष्ट भएपछि उत्तरी भेगमा उत्पादन भएका लौका, परबल, बोडी, भिन्डीजस्ता तरकारी सीमावर्ती बजार र सीमापारि भारतीय बजारसम्म पनि पुगिरहेको छ,” उहाँले भन्नुभयो । दक्षिणी भेगबाट धेरै व्यापारी आउँदा लालबन्दीका पुराना व्यापारीले पर्याप्त तरकारी किन्न पाएका छैनन् । 

उनीहरूले काठमाडौँसहित अन्य सहरमा पठाउने तरकारीको परिमाण घटेको छ । बजार समितिका अध्यक्ष मगरका अनुसार अहिले लालबन्दी बजारबाट मलङ्गवा, चन्द्रनिगाहपुर, गौर, वीरगन्ज, जनकपुरलगायतका छेउछाउका बजारमा १५ टन र काठमाडौँमा ११५ टन तरकारी दैनिक निर्यात भइरहेको छ । 

तरकारी उत्पादन घटेर व्यापारीबिच तरकारी खरिद गर्न प्रतिस्पर्धा चलेपछि किसानले दुई सातायता राम्रो मूल्य पाइरहेका छन् । लालबन्दी नगरपालिका–११, हिरापुरका किसान तीर्थमान घिसिङले अहिले हरेक तरकारीको मूल्यमा प्रतिकेजी २० देखि ३० रुपियाँसम्म बढी मूल्य पाउँदा राहत मिलेको बताउनुभयो ।