• १६ भदौ २०८१, आइतबार

‘बडीमालिका र बुढीनन्दा’ तीर्थयात्रा सुरु

blog

मार्तडीस्थित मालिका मन्दिरबाट सरकारी डोलीलाई बिदाई गर्दै बडीमालिका नगरपालिका अमर खड्का लगायत ।

संगीता तिमिल्सिना

बाजुरा, साउन ३१ गते । धार्मिक आस्थाका शक्ति केन्द्र बडीमालिका र बुढीनन्दा क्षेत्रको तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका धरोहर मानिएका बडीमालिका र बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पूजाका लागि धार्मीक बिहीबारबाट तीर्थयात्रा सुरु भएको छ । 

दुवै शक्ति पीठमा तीन दिन पहिला नै यात्रा प्रारम्भ गर्नुपर्ने धार्मिक मान्यता छ । सयौँको संख्यामा तीर्थयात्राहरु केहीदिन पहिलादेखि नै बडीमालिका, बुढीनन्दा जान थालेपनि औपचारिक यात्रा बिहिबारबाट सुरु गरिएको बडीमालिका नगरपालिकाले जनाएको छ । पालिकाका तर्फबाट औपचारिक रुपमा नै सरकारी टोली बडीमालिका गएको छ । 

नगर उपप्रमुख नन्दाकुमारी थापा नेतृत्वमा टोली बडीमालिका तीर्थयात्रामा प्रस्थान गरेको हो । बडीमालिका नगरपालिकाले केही वर्षयता औपचारिक रुपमा सरकारी टोलीलाई नै बडीमालिका तीर्थ यात्रामा पठाउने गरेको छ । त्यो भन्दा पहिला डोटी र जुम्लाबाट मात्रै सरकारी टोली पूजा सामान सहित बडीमालिका यात्रा जाने गरेको थियो । 

बाजाजागा सहित, फूलमालामा सजिएका जमाराको टोकरी शिरमा राखेर पञ्च कन्या र महिलाहरुले सरकारी टोलीको बिदाइ गरेका हुन् । मार्तडीस्थित मालिका मन्दिरमा पुगेर तिर्थयात्रीको बिदाइ गरेको नगर प्रमुख अमर खड्काले बताउनुभयो । नगर प्रमुख सहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधी सहीतको टोलीले तिर्थयात्रीको बिदाइ गरेको हो । 

टोली पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन र तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने गरि प्रस्थान गरेको हो । बुढीनन्दा नगरपालिकाले पनि सरकारी तिर्थयात्रीको टोलीलाई औपचारिक रुपमा बिदाइ गरेको नगर प्रमुख जनक कुमार बोहराले बताउनुभएको छ । 

बाजुराका बडीमालिका र बुढीनन्दालाई धार्मिक शक्ति केन्द्रका रुपमा पुजा पाठ गर्ने गरिएको छ । त्यो बाहेक, जनैपूर्णिमाकै अघिल्लो दिन बाजुराका बढालेक, दुनालेक, डडुल्ली, शम्भुसुनन्दा, जुल्ठ्या सहीतका दर्जनबढी धार्मीक शक्तिकेन्द्रमा पनि एकसाथ पूजा लाग्ने गरेको छ । 

मागेको वर पाइने र मनोकांक्षा पुरा हुने विश्वासका साथ धार्मिक शक्ति केन्द्रमा भक्तजनहरुले पूजा पाठ गर्ने गरेका छन् । दर्शनका लागि बाजुरा, डोटी, अछाम, कालीकोट, जुम्लासहित देशभरिबाट भक्तजनन आउने गरेका छन् भने छिमेकी देश भारतबाट पनि भक्तजनहरु बडीमालिकाको दर्शनका लागि आउने गरेका छन् । 

सत्ययुगमा भगवान शिवले सतीदेवीको शरिरलाई संसार भर घुमाउने क्रममा पर्वत श्रृङ्खलामा शरिरका अंगहरु खसेको र सोही स्थानमा देवीको फेरि अवतार भएको धार्मिक विश्वासका आधारमा पूजापाठ गर्ने गरिएको छ । बाजुराको बडीमालिका, बुढीनन्दा, बडालेख, दुनलेख र सुनन्दालगायत शक्तिपीठहरूमा एकैदिन पूजा लाग्ने गरेको छ । धार्मिक आस्था र विश्वासको आधारमा सबैको महिमा र विश्वास समान खालको भएपनि बडीमालिका र बुढीनन्दा पर्यटन र जडीबुठीको हिसाबले बढी चर्चित छन् ।  

बडीमालिका क्षेत्रमा २२ आकर्षक पाटनहरू, खेतीबेती, त्रिवेणी धाम लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू छन् । धार्मिक पूजा आरधानाका साथै सोही स्थानहरूको अवलोकन गर्न तीर्थयात्रीहरू बडीमालिका आउने गरेका छन् ।   

बडीमालिकाको दर्शनपछि मनोकाङ्क्क्षा पूरा हुने अद्भूत दैवी शक्ति भएकाले अधिकांश श्रद्धालु भक्तजनहरू दर्शन गर्न आउने गरेको बडीमालिकाका पुजारी नेत्रप्रसाद प्राध्यायको भनाइ छ । बडीमालिकाले निसन्तानीलाई सन्तान दिने, मागेको पूरा हुने विश्वासका साथ श्रद्धालु भक्तजनहरू बडीमालिकामा घुइँचो लाग्ने गरेको पुजारी पाध्यायले बताउनुभयो। 

बडीमालिका पूजाका लागि डोटीबाट डोल, जुम्लाको चन्दनाथ मन्दिर र कालीकोटबाट सरकारी पूजा टोली बडीमालिका क्षेत्रमा पुगीसकेको छ । बडीमालिकामा परम्परादेखि नेपाल सरकारको नेतृत्व गर्दै बाजुरा जुम्ला, कालीकोट र डोटीबाट सरकारी टोली अनिवार्य उपस्थिति हुनु पर्ने चलन छ । 

धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा रहेको बुढीनन्दामा विभिन्न ताल, झरना र रमणीय फाँटहरू रहेका छन् । बडीमालिका र बुढीनन्दा दिदीबहिनी भएकाले शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् भदौ चतुर्दशीका दिन पूजा लाग्ने गरेको छ ।