• १६ भदौ २०८१, आइतबार

सुदूरपश्चिममा औलो रोगका आयातित बिरामीको सङ्ख्या बढ्दै

blog

कञ्चनपुर, साउन ३१ गते । एनोफिलिज जातको पोथी सङ्क्रमित लामखुट्टेको टोकाइबाट हुने औलो रोगका आयातित बिरामीको सङ्ख्या सुदूरपश्चिममा बढ्दो छ । भारतमा मजदुरी गरेर फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण बढी देखिने गरेको छ । 

स्थानीयभन्दा भारतबाट फर्कने व्यक्तिहरु औलोको उच्च जोखिममा पर्दै आएका छन् । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग अधिकृत हेमराज जोशीका अनुसार आर्थिक वर्ष ०८०/८१ को साउन महिनादेखि असार मसान्तसम्म औलाका बिरामीको सङ्ख्या दुई सय ४७ रहेकामा आयातित बिरामीको सङ्ख्या दुई सय २९ छ । स्थानीय औलोका बिरामीको सङ्ख्या १८ जना मात्रै रहेको छ ।

औलोका दुई परजीवीहरु प्लाज्मोडियम फाल्सिपारम र प्याज्मोडियम भाइभेक्सबाट औलो सर्ने गर्दछ । भाइभेक्सभन्दा प्लाज्मोडियम फाल्सिपारम बढी जोखिमयुक्त हुने गरेको छ । समयमै उपचार नभए फाल्सिपारमबाट बिरामीको मृत्यु हुन सक्ने सम्भावना उच्च रहने गर्दछ । अधिकृत जोशीका अनुसार सुदूरपश्चिममा  यातित पाँच वर्षमाथिका प्लाज्मोडियम भाइभेक्सबाट सङ्क्रमित पुरुष एक सय ४६ र महिला ३३ छन । 

प्लाज्मोडियम फाल्सिपारमबाट पाँच वर्षमाथिका २४ जना पुरुषमा सङ्क्रमण देखापरेको छ । स्थानीय प्लाज्मोडियम भाइभेक्सबाट पाँच वर्षमाथिका पुरुष आठ र महिला तीनजना सङ्क्रमित भएकामा प्लाज्मोडियम फाल्सिपारमबाट तीन जना पुरुष सङ्क्रमित भएका छन् । आयातित पाँच वर्षमुनिका प्लाज्मोडियम भाइभेक्सबाट पुरुष दुई र महिला एकजनामा सङ्क्रमण देखिएको छ । 

त्यसैगरी, आयातित १८ पुरुष र दुई महिला प्लाज्मोडियम भाइभेक्सको सङ्क्रमण दोहाेरिएको अवस्थामा पाइएको अधिकृत जोशीको भनाइ रहेको छ । सबैभन्दा बढी आयातित औलोका बिरामी कैलालीमा एक सय ३५, कञ्चनपुरमा २९ र अछाममा २४ जना छन् । त्यसपछि डोटीमा १६, बाजुरामा १५, डडेल्धुरामा सात, बैतडीमा चार र दार्चुलामा दुईजना औलोका आयातित बिरामी फेला परेका छन् । 

बझाङ जिल्लामा भने सो अबधिमा कुनै पनि औलोका बिरामी भेटिएका छैनन् । “बर्सेनि भारतबट फर्कने व्यक्तिहरुमा औलोको सङ्क्रमण देखिँदै आएको छ, स्थानीय औलोका बिरामी न्यून मात्रामा रहे पनि आयातीित बिरामीको सङ्ख्या बढ्दो छ,” अधिकृत जोशीले भन्नुभयो, “खुला सीमा नाकाका कारण औलो नियन्त्रण गर्नमा चुनौती छ, सीमा नाकामै औलोका शङ्कास्पद बिरामीको रगत चेकजाँच गर्ने व्यवस्थालाई भरपर्दो बनाइनुपर्छ ।” 

तराई क्षेत्रमा औलो रोग देखिनु सामान्य भए पनि जलवायु परिवर्तनको असरले पृथ्वीको तापक्रम बढ्दा पछिल्लो केही वर्ष पहाडीदेखि उच्च हिमाली जिल्लामा पनि औलोका आयातितसँगै स्थानीय बिरामी फेला पर्न थालेका छन् । तापक्रमको उतारचढावका कारण लामखुट्टेले बस्नका लागि वातावरण अनुकूल बनाएको उहाँको भनाइ रहेको छ । लामखुट्टे यातायातका साधनको ओहोरदोहोर गर्ने क्रमसँगै पहाडी र हिमाली जिल्लामा पुगेको उहाँ बताउनुहुन्छ । 

औलो एनोफिलिज जातको सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने एक प्रकारको सरुवा रोग भएको उल्लेख गर्नुहुँदै उहाँले औलो लागेको व्यक्तिलाई लामखुट्टेले टोक्दा रगतसँगै औलोको परजीवी पनि चुस्दछ र लामखुट्टे सङ्क्रमित हुने भएकाले त्यस्ता सङ्क्रमित लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा औलो सर्ने गरेको बताउनुभयो । उहाँका अनुसार औलो रोग निवारणका लागि कीटनाशक झुल वितरण, कीटनाशक विषादी छर्कने कार्यसँगै जनचेतना फैलाउने कार्य प्रदेशका नौवटा जिल्लामा गरिँदै आएको छ ।

औलोबाट बच्न साँझ बिहानको समयमा पूरै शरीर ढाक्ने लुगा लगाउने, शरीरको खुला भागमा कीटनाशक मलम लगाउने, घरभित्र, घरबाहिर, आँगनमा बस्दा लामखुट्टे धपाउन धूप बाल्ने, सुत्ने बेलामा झुलको प्रयोग गर्ने, घर वरिपरि सफा राख्ने, घर वरिपरि पानी जम्न दिनुहुँदैन । औलो रोगबाट बच्ने उत्तम उपाय नै लामखुट्टेलाई टोक्न नदिनु नै हो । नेपालबाट औलो सन् २०२५ भित्रै निवारण गरी बिरामीको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिइएको छ । रासस