• १६ भदौ २०८१, आइतबार

बाघ नियन्त्रणका लागि प्राविधिक टोली रुपन्देहीमा

blog

फाइल तस्विर

लक्ष्मण पौडेल

भैरहवा, साउन ३१ गते । रुपन्देहीको तिनाउ आसपासको जङ्गलमा बाघ देखिएपछि नियन्त्रणको प्रयास थालिएको छ । प्राविधिक टोलीले क्यामेरा जडान गरेर बाघ नियन्त्रणको प्रयास थालेको हो । 

पछिल्लो दुई साता यता सियारी, शुद्धोधन र तिलोत्तमाको तिनाउ आसपास जङ्गलमा बाघ देखिएको भन्दै यहाँका स्थानीय त्रसित भएका छन् । स्थानीय पालिकाले सूचना नै निकालेर सचेत रहन स्थानीयलाई आग्रह गरेका छन् । डिभिजन वन, सुरक्षा अधिकारीसहितको टोलीले निरीक्षण गरेपछि बाघ रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि अहिले प्राविधिक टोली बोलाएर क्यामेरा जडान गरी निगरानी बढाइएको छ ।

मङ्गलबार रुपन्देही आएको प्राविधिक टोली बाघको वास्तविकताबारे क्यामेरामार्फत निगरानी सुरु गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । ‘हामीले स्थलगत निगरानी गरेरपछि बाघ आएको भन्ने लगभग पक्कापक्की भएको थियो । त्यसपछि प्राविधिक टोली बोलाएर क्यामेरामार्फत निगरानी सुरु भएको छ’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक टोली यहाँ आएको छ । बाघ भेटिएमा सो टोलीले नियन्त्रणमा लिनेछ । प्राविधिक टोलीले बुधबार बाघ आएको भनिएको सियारी गाउँपालिका –७ मा स्थलगत अवलोकनपछि निगरानीका लागि क्यामेरा जडान गरेको छ ।

बाघ देखिएको भन्ने क्षेत्रमा चारवटा क्यामेरा जडान गरिएको छ । ‘निरीक्षण गर्ने काम सुरु भएको छ । केही दिनसम्म निरन्तर निगरानीपछि वास्तविकता बाहिर आउला’ प्रजिअ अर्यालले भन्नुभयो । गत साउन १७ मा शुद्धोधन –३ र सियारी गाउंँपालिका –७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीन बाघ देखिएको भनेपछि वडा र पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेका थिए ।

साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपास बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो । त्यसपछि तिनाउ आसपासका मानिस त्रसित बनेका छन् । प्राविधिकका अनुसार बाघ देखिएको भनिएको क्षेत्रमा बाघ लुक्न सक्ने ठूलो ठाउँ छैन ।