• १६ भदौ २०८१, आइतबार

सडक आश्रित सहयोगापेक्षी बालबालिकाबाट हैरानी

blog

तिलाचन पाण्डे 

तम्घास, साउन ३१ गते । सडक आश्रित सहयोगापेक्षी बालबालिकाको उचित व्यवस्थापन हुन नसक्दा यहाँका सेवाग्राही र सर्वसाधारणले विभिन्न हैरानी खेप्दै आएका छन् ।  जिल्ला प्रशासनलगायत सदरमुकाममा सेवा लिन आउनेले उनीहरूबाट हैरानी भोग्दै आएका छन् । बसपार्कको आसपास, समन्वय समिति गुल्मी र जिल्ला प्रशासन कार्यालयको वरपर उनीहरूले सेवाग्राहीबाट पैसा माग्ने, कसैले खाजा खाएको देखेमा माग्ने र नदिएमा जबरजस्ती खोस्ने गर्दै आएका छन् । 

सदरमुकाम तम्घासमा करिब १८ जनासम्म सडक आश्रित सहयोगापेक्षी बालबालिका रहेका छन् । उचित व्यवस्थापन नगर्ने हो भने कुलतमा फस्ने देखिएको स्थानीय ताराप्रसाद भुसाल बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन आएका होमनाथ शर्माले सडक आश्रित सहयोगापेक्षी बालबालिकाले आफूहरूले खाँदै गरेको चाउचाउ खोसेर लगेको र पैसा मागेर सताएको गुनासो गर्नुभयो । 

यसका साथै उनीहरूले यहाँको थ्रिडी पार्कका संरचनामा तोडफोड गर्ने, पार्किङ गरेर राखेका मोटरसाइकलमा क्षति पुग्ने काम गर्दै आएका छन् । 

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उनीहरूको उचित व्यवस्थापन गर्न सरोकारवालासँग छलफल गरेर निकास निकाल्ने बताउनुभयो । उनीहरूको व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन तरिकाले सोचेर निर्णय लिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

खर्च भयो व्यवस्थापन भएन

अठार जना सडक आश्रित सहयोगापेक्षी बालबालिकालाई व्यवस्थापन गर्न भन्दै स्थानीय तहहरूको सहयोगमा करिब सात लाख खर्च भएको शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले बताउनुभयो । छ महिनापश्चात् यहाँका चार वटा विद्यालयमा उनीहरूलाई पढाउने गरी व्यवस्थापन गरेर छाडेको उहाँको भनाइ छ । 

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले सडक आश्रित सहयोगापेक्षी बालबालिकाले तम्घासमा हैरान पारेको बताउँदै उचित व्यवस्थापन गर्ने गरी नगरले योजना बनाउने बताउनुभयो । अभिभावक खोजेर जिम्मा लगाउँदा उत्तम हुने र अभिभावक फेला नपरेमा दीर्घकालीन योजना बनाएर व्यवस्थापन गरेरै छाड्ने उहाँको दाबी छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीका अनुसार पहिले पनि १८ जना सडक आश्रित सहयोगापेक्षी बालबालिकालाई मिनी होस्टेल खोलेर छ महिना राखी शिक्षा प्रदान गरेको बताउनुभयो ।