• २ भदौ २०८१, आइतबार

अस्करले चलचित्र निर्माण गर्ने

blog

काठमाडौँ, साउन ३१ गते । चलचित्र अध्यापन गर्दै आएको अस्कर कलेजले चलचित्र तथा ‘वेभ सिरिज’ निर्माणसमेत गर्ने भएको छ । अस्कर कलेजको २० औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार सो घोषणा गरिएको हो । 

कलेजका प्रधानाध्यापक रामराजा दाहालले कलेजबाट दीक्षित विद्यार्थीको सहभागितामा चलचित्र निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीलाई कलेज सकेपछि फिल्म निर्माण कहाँ कसरी गर्ने भन्ने ठुलो चिन्ता हुन्छ । त्यसैले कलेजले विद्यार्थीलाई फिल्म निर्माणका लागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक उपकरण तथा भौतिक स्रोतसाधन उपलब्ध गराउने छ ।”

कलेजका संस्थापक नीर शाहले कलेजले दुई दशक लामो प्राज्ञिक यात्रा पार गरेको अवसरमा खुसी तथा गर्व लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली चलचित्रको प्राज्ञिक तथा बौद्धिक कुरा आउँदा अस्कर कलेजको नाम छुटाउनै नहुने रूपमा स्थापित भइसकेको छ ।”