• ११ मंसिर २०८१, मङ्गलबार

आम्दानीको स्रोत बन्दै गँड्यौले मल

blog

वालिङ समाचारदाता

वालिङ, साउन ३१ गते । स्याङ्जाको वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक गँड्यौले मलबाट राम्रो आम्दानी गर्न सफल भएको छ ।

वालिङ नगरपालिकाका १४ वटै वडाका कृषकलाई व्यावसायिक गँड्यौले मल उत्पादनमा जोडेको सहकारीले पछिल्लो समय आफैँ पनि उत्पादन सुरु गरेको हो । सहकारीले विगत दुई वर्षदेखि आफैँ व्यावसायिक रूपमा गँड्यौले मलको उत्पादन गर्दै आइरहेको छ । सहकारीले चार रोपनी जमिन भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ । 

गएको आर्थिक वर्षमा सहकारीले ४० हजार ५७२ केजी मल उत्पादन गरेर बजारीकरण गरेको छ । जसबाट सहकारीले १२ लाख १७ हजार १६० आम्दानी गरेको छ । सहकारीले प्रतिकेजी ३० रुपियाँमा गँड्यौले मल बेच्दै आएको छ । 

वालिङ नगरपालिकासहित जिल्लाका प्रायः सबै पालिकाका कृषक गँड्यौले मल लिन सहकारी पुग्ने गरेका छन् । सहकारीले स्याङ्जासहित, पाल्पा, कास्की, रुपन्देहीलगायतका जिल्लामा मल पठाउँदै आएको सहकारीका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङले जानकारी दिनुभयो । 

वालिङ नगरपालिकाको सहकार्यमा वडा तहमा गँड्यौले मल उपलब्ध गराइएको अध्यक्ष गुरुङले बताउनुभयो । वडा वडामा गँड्यौले मलको महत्व र प्रभावकारिताबारे कृषकले जानकारी पाएका उहाँको भनाइ छ । १४ वटा वडामा मात्रै ३२ हजार पाँच सय किलो मल कृषकले आआफ्ना बालीमा प्रयोग गरेको सहकारीले जनाएको छ । 

पछिल्लो समय रासायनिक मलको विकल्पका रूपमा प्राङ्गारिक गँड्यौले मलको प्रयोग बढेको छ । वालिङ नगरपालिका–५ का कृषक हुमनाथ लामिछानेले भन्नुभयो, “गँड्यौले मलको प्रयोग गर्न थालेपछि उत्पादनमा फरक आएको छ, त्यसैले हाम्रो गाउँका सबै कृषकहरू यसैतर्फ आकर्षित भएका छन् ।” 

वालिङ नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) नेपाल र दियालो संस्थाले व्यावसायिक गँड्यौले मल उत्पादन र बजारीकरणका लागि सहकार्य गर्दै आएका छन् । सहकारीले रैथाने बाली संरक्षण र उत्पादनमा पनि जोड दिँदै आएको छ । गाउँ गाउँका कृषकलाई रैथाने बालीको खेती गर्नका लागि कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आइरहेको सहकारीका सचिव भूपराज बगालेले जानकारी दिनुभयो ।