• १६ भदौ २०८१, आइतबार

सात हजार कैदी बन्दी आँट्ने केन्द्रीय कारागार निर्माणमा ढिलाइ

blog

नुवाकोट, साउन ३१ गते । नुवाकोटमा निर्माणाधीन सात हजार कैदी बन्दी आँट्ने केन्द्रीय कारागार निर्माणमा ढिलाइ भएको छ । १० वर्ष भित्र पाँच चरणमा गरेर काम सम्पन्न हुनु पर्ने भए पनि भौतिक संरचना भने १९ प्रतिशत मात्र काम भएको छ ।

यसअघि तेस्रो चरणको कामका लागि ठेक्का निकालेर सम्झौता प्रक्रियामा पुगे पनि स्थगित गरिएको थियो तर सरकारको निर्णयअनुसार नुवाकोटमा करिब सात हजार कैदी बन्दी अट्ने संरचना निर्माण गर्ने लक्ष्यअनुसार नै काम अघि बढाइने कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्य बताउनुहुन्छ । 

केन्द्रीय कारागार निर्माणको ‘गुरु योजना’ मा समावेश भएकामध्ये निर्माण गर्न बाँकी भौतिक संरचना तेस्रो चरणको कार्यक्रममा समावेश हुने अनुगमन पश्चात् नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो । 

सात हजार कैदी बन्दी क्षमताको केन्द्रीय कारागार पाँच चरणमा १० वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर सरकारले निर्णय गरेको १० वर्ष पूरा हुँदा बल्ल भौतिक संरचना निर्माणअन्तर्गत करिब १९ प्रतिशत काम भएको छ । यहाँ अझै पाँच हजारभन्दा बढी कैदी बन्दी राख्ने संरचनासहित अस्पताल, शिक्षालयसहितको संरचना निर्माण गर्न बाँकी छ ।

विसं २०७० चैत २० गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले काठमाडाैँ रहेको केन्द्रीय कारागार नुवाकोटमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सङ्घीय संरचनाअनुसार नुवाकोटमा निर्माण भइरहेको कारागारलाई केन्द्रीय कारागार, सात वटै प्रदेशमा प्रादेशिक कारागार र सबै जिल्लामा एक÷एक जिल्ला आधुनिक कारागार बनाउने सरकारको लक्ष्य छ ।

विदुर नगरपालिका–६ स्थित खम्पा क्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार तीन सय ७० जना कैदी बन्दी राख्ने क्षमताको भौतिक संरचना निर्माण सम्पन्न भएको छ । आज कारागार व्यवस्थापन विभागका महानिर्देशक जयनारायण आचार्यले यहाँ निर्माणकार्यको अनुगमन गरेसँगै अबको केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको जनाइएको हो । 

महानिर्देशक आचार्यले महिलाको लागि एक र पुरुषका लागि चार वटा ब्लकसहित संरचना निर्माणको काम पूरा भएकाले अब चाँडै कैदी बन्दी स्थानान्तरण गरिने बताउनुभयो । “कारागार निर्माणको पहिलो चरणमा जग्गाको चार किल्ला निर्धारण गरेर दोस्रो चरणमा एक हजार तीन सय ७० जना कैदी बन्दी अट्ने क्षमताको पाँच वटा ब्लक निर्माण गरिएको छ”, महानिर्देशक जयनारायण आचार्यले भन्नुभयो, “तयार भएका भवनमा कैदी बन्दी राख्न कारागार, शौचालय, स्नानकक्ष, खेल मैदानसहित आधुनिक एवं सुविधा सम्पन्न संरचना निर्माण गरिएका छन् ।” 

कूल सात हजार कैदी बन्दी अट्ने क्षमताको भौतिक संरचना निर्माणसहित शिक्षालय, पुस्तकालय, अस्पताल, सीप विकास तथा प्रवर्द्धन केन्द्र, योग तथा ध्यान केन्द्रसहित आधुनिक सुधार गृहको रूपमा नुवाकोटमा केन्द्रीय कारागार भइरहेको छ । अब निर्माणको काम तेस्रो चरणमा प्रवेश गर्न लागेको त्यस अवसरमा जानकारी दिइएको थियो ।