• १६ भदौ २०८१, आइतबार

विश्वविद्यालयको उपाध्यक्षमा आवेदन माग

blog

बागमती प्रदेश विश्वविद्यालय संरक्षक समितिको सचिवालय ।

राममणि दाहाल

हेटौँडा, साउन ३० गते । बागमती प्रदेश सरकारले सञ्चालनको तयारी गरेको बागमती प्रदेश विश्वविद्यालयका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को सचिवालयले विश्वविद्यालयको उपाध्यक्षमा नियुक्तिको आवेदन माग गरेको हो ।

विश्वविद्यालय संरक्षक समितिको सचिवालयले १५ दिने सूचना प्रकाशित गर्दै उपाध्यक्षका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन दिन भनेको छ । बागमती प्रदेश विश्वविद्यालयको उपाध्यक्ष सिफारिससम्बन्धी कार्यविधि २०८१ अनुसार उपाध्यक्षका लागि उम्मेदवार हुन ५६ वर्ष ननाघेको, १० वर्ष विश्वविद्यालय अन्तर्गत कम्तीमा उपप्राध्यापक वा सोसरहको अनुभव वा सोसरहको नेपाल–प्रदेश–स्थानीय सरकारका सेवामा कम्तीमा उपसचिव वा सोसरहको अनुभव भएको र शैक्षिक प्रशासनिक अनुभव भएको हुनुपर्नेछ । 

कम्तीमा द्वितीय श्रेणीमा स्नातकोत्तर उत्तीर्ण भएको, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा र कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको स्वघोषणा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपाध्यक्षको आवेदकले आफ्नो अवधारणा र व्यावसायिक कार्ययोजनासहित निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसअघि गत वैशाखमा प्रदेश सरकारले आफ्नै विश्वविद्यालय स्थापना गर्नेगरी ल्याएको विधान कार्यान्वयनमा नआउँदै खारेज गरी असारमा अर्को विधान ल्याएको थियो ।