• १६ भदौ २०८१, आइतबार

सर्प उद्धारमा नगर प्रहरी

blog

सर्पको उद्धार गरिदै ।

अविनाश चौधरी

धनगढी, साउन ३० गते । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले नगर क्षेत्रको रेखदेखसँगै सर्प उद्धारमा सक्रियता बढाएको छ । सर्प उद्धारसम्बन्धी गतवर्ष तालिम लिएपछि नगर प्रहरीले नगर क्षेत्रबाट सर्पको उद्धार गर्ने कार्यमा सक्रियता बढाएको हो ।

नगरवासीको घरभित्र पसेको वा घर आसपासमा रहेको सर्पको उद्धार गरी नगर प्रहरीले सुरक्षित स्थानमा छोड्ने गरेको छ । नगर प्रहरीको यो सक्रियताले सर्पको टोकाइबाट कैयौं व्यक्ति जोगिएका छन् । 

सर्प उद्धारसम्बन्धी तालिम लिएपछि  नगर प्रहरी जुनसुकै बेला पनि सम्बन्धित ठाउँमा पुगेर सर्पको उद्धार गर्ने काम गर्दै आएको नगर प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक पदमबहादुर गैरेले बताउनुभयो । उहाँका अनुसार सर्वसाधारण वा जोकोहीले सर्प उद्धारका लागि खबर गरेपछि तुरुन्तै नगर प्रहरी पुगेर सर्पको उद्धार गरी सुरक्षित स्थानमा लगेर छाड्ने गरेको छ । 

नगर प्रहरीले गत वर्षदेखि हालसम्म एक हजार २७ सर्पको उद्धार गरेको छ । उद्धार गरिएकामध्ये गोमन प्रजातिका कमन कोब्रा ११३, राज गोमन आठ, ब्ल्याक कोब्रा २१० वटा रहेको जनाइएको छ । 

यसैगरी, कमन करेत २५, ब्यान्डेट करेत ४८, करेत १८, भाइपर छ, पित भाइपर एक, कोरल स्नेक एक वटा उद्धार गरिएको जनाइएको छ । नगर प्रहरीले अजिङ्गर पाँच वटा, रातो सर्प एक, बगाले सर्प आठ, धामन २७३ वटा र पानी सर्प २२० वटा उद्धार गरेर सुरक्षित स्थानमा छाडेको छ ।