• १६ भदौ २०८१, आइतबार

तीन महिनादेखि आइसियुमा, पैसा सकिएपछि सहयोगको आग्रह

blog

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराउँदै पूर्णकला ।

बुटवल समाचारदाता 

बुटवल, साउन ३० गते । रूपन्देहीको सैनामैना नगरपालिका–१०, बेम्टेनीकी ३८ वर्षीय पूर्णकला बरौलीमगर विगत तीन महिनादेखि लुम्बिनी प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार गराइरहनुभएको छ । 

घरको आर्थिक अवस्था कमजोर रहेको र तीन महिना उपचार गराउँदा सबै पैसा सकिएपछि पूर्णकलाले थप उपचारका लागि आर्थिक सहयोगका लागि आग्रह गर्नुभएको हो । पूर्णकलालाई सुरुमा प्यारालायसिस भए पनि उपचार गरेपछि निको भएको तर तीन महिनाअघि फेरि उहाँलाई पक्षाघात (प्यारालाइसिस) भयो । 

तीन महिनासम्म लगातार अस्पतालको शय्यामा सुत्दा उहाँको पिठिउँमा ठुलो घाउ भएको छ । अब त्यो घाउ निको गर्न चुनौती छ । घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उहाँले सहयोगका लागि आग्रह गर्नुभएको छ । 

पूर्णकलाको घरको अवस्था एकदमै कमजोर रहेको उहाँका छिमेकी डिला सोमै मगरले बताउनुभयो । साँझ बिहानको छाक टार्नसमेत मुस्किल छ । त्यसमाथि कमाउने मान्छे नै अस्पतालमा थला परेपछि समस्या परेको छ । 

विगत तीन महिनादेखि आइसियुमा राखेर उपचार गराउँदा ७० हजार रुपियाँ खर्च भइसकेको छ । घरमा रहेको पैसा उपचारमै सकिएपछि अब आर्थिक सहयोग गरिदिए आफू बाँच्ने पूर्णकलाको आशा छ । 

अस्पतालले पूर्णकलालाई अब कि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने कि त काठमाडौँ लैजानुपर्ने जनाएको छ तर त्यसका लागि धेरै पैसा आवश्यक भएकाले उहाँका छिमेकीले देश तथा विदेशमा बस्ने नेपालीसँग सहयोगको आग्रह गरेका छन् । 

पूर्णकलाका श्रीमान् पनि मानसिक बिरामी हुनुहुन्छ । घरमा कमाउने र आम्दानी गर्ने कोही छैन । स्थानीय बेम्टेनीका जनताले पूर्णकलाको उपचारमा अहिलेसम्म सहयोग गर्दै आएका छन् तर अब धेरै सहयोगको आवश्यकता भएकाले स्थानीयले समेत पूर्णकलाको उपचारका लागि सहयोगको आह्वान गरेका छन् । 

स्थानीय बेम्टेनीकी डिला सोमैमगरले पूर्णकलाको थप उपचारमा अन्यत्र लैजानुपर्ने भएकाले देश तथा विदेशमा बस्ने नेपालीसँग सहयोग गरिदिन आग्रह गर्नुभयो । आर्थिक सहयोगका लागि पूर्णकलाको कामना सेवा विकास बैङ्क सालझन्डी रुपन्देहीको खाता नं. ०२६११२००१३७४१९०००००२ मा पैसा पठाएर सहयोग गर्न उहाँको आग्रह छ ।