• ११ मंसिर २०८१, मङ्गलबार

कतै खेर जाँदै, कतै बोटबाटै बिक्री हुँदै स्याउ

blog

जयमान बुढामगर
रुकुमपूर्व, साउन ३० गते ।
रुकुमपूर्वका धेरै स्थानमा स्याउ फल्ने गरेको छ । स्याउ फल्ने ठाउँमा कतै सडक पुगेको छ भने कतै अझै सडक पुग्न सकेको छैन । त्यसोत सडक पुगेका स्थानमा बोटबाटै स्याउ बिक्री हुन्छ । तर सडक नपुगेको ठाउँको स्याउ त्यतिकै खेर गइरहेको छ ।

स्याउ फलेपछि राम्रो आम्दानी गर्ने कृषकको सोच हुन्छ । स्याउका बिरुवा खरिद गरी ढुवानी गरेर ल्याएर रोपी सकेपछि समय–समयमा गोडमेल र रेखदेख गर्ने गर्छन्, कृषक । यति धेरै परिश्रम र लगानी गरेपछि करिब तीन/चार वर्ष पछि स्याउ फल्न थाल्यो, कृषक खुसी हुन्छन् । तर सडकको पहुँचमा भएका कृषकले लगानी अनुसारको आम्दानी गर्दै आएका छन् भने सडक नपुगेका ठाउँका कृषक स्याउ फले पनि दुःखी र निरास हुनु पर्ने अवस्था छ । सडक सञ्जाल नहुँदा बिक्री लागि पठाउन समस्या छ । अनि अरु केही उपाय नभएपछि हरेक वर्ष लटरम्म स्याउ फल्छ र बारीमै कुहिएर खेर जान्छ ।

जिल्लाको भूमे गाउँपालिका–१, सिस्ने गाउँपालिका–१ र पुथाउत्तरगङ्गा गाउँपालिका–१, २, ५, ६, ९, १० यी वडाका विभिन्न ठाउँमा स्याउ लटरम्म फलेको छ । जसमा सिस्ने गाउँपालिका–१, पुथाउत्तरगङ्गा गाउँपालिका–२ र ९ मा सडक अझै सडक पुगेको छैन भने पुथाउत्तरगङ्गा–१, ५, ६ र १० मा सडकको पहुँच भएता पनि हाल वर्षायाममा भरपर्दाे छैन । कुन बेला कहाँ पहिरो जान्छ र सडक बन्द हुन्छ अनुमाग गर्न गाह्रो छ । यद्यपी पहिरोका कारण बन्द भएको सडक कहिले खुल्ने हो पत्तो हुँदैन । त्यस कारण यी वडामा पनि स्याउ ढुवानीको लागि समस्या नै रहेको छ ।

तर, भूमे गाउँपालिका–१ मध्यपहाडी लोकमार्गकै छेउमै पर्ने भएकाले बोटबाटै स्याउ बिक्री भइरहेको कृषक तीर्थबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो, “सडकको पहुँच भएपछि उत्पादन मात्र गर्नु पर्ने रहेछ । दैनिक बोटबाटै स्याउ बिक्री भइरहेको छ । न आफूले टिप्नु पर्‍यो, न बोकेर बजारसम्म पुर्‍याउनु पर्‍यो । सडक भए किसानलाई ठुलो सहयोग हुने रहेछ  ।”

पुनको बगैँचामा चार सय स्याउका बोट छ । जसमध्ये साढे तीन सय बोटमा लटरम्म स्याउ फलेका छन् । पुनले प्रति किलो एक सय रुपियाँका दरमा बोटबाटै स्याउ बिक्री गरिराख्नु भएको छ । आजभोलि दैनिक तीनदेखि आठ हजार रुपियाँसम्म स्याउ बिक्रीबाट आम्दानी भइरहेको पुनले बताउनुभयो । मध्यपहाडी लोकमार्गको पहुँच पुगेदेखि पुनको स्याउ हरेक वर्ष बोटबाटै बिक्री हुने गरेको छ । स्याउ बिक्रीबाट एक सिजनमा एक लाख रुपियाँसम्म आम्दानी भइरहेको पुनको भनाइ छ ।

सडक नपुगेको ठाउँका स्याउ भने हरेक वर्ष खेर गइरहेको छ । सिस्ने गाउँपालिका–१ का स्याउ बगैँचामा लटरम्म स्याउ फलेको छ । तर यहाँ सडक पुगेको छैन । जसका कारण बोटमै स्याउ खेर गइरहेको छ । सडक भएको ठाउँसम्म आउन हिँडेर एक दिन लाग्ने गर्दछ । सिस्ने–१ का वडाध्यक्ष रजबहादुर बुढाले भन्नुभयो, “किसानका बारीबारीमा लटरम्म स्याउ फलेका छन्, टिप्ने सिजन सुरु भइसक्यो, तर बजारसम्म पठाउने सडक छैन, किसानको लगानी त्यतिकै खेर गइरहेको छ ।” वडाध्यक्ष बुढाले थप्दै भन्नुभयो, “हाम्रो वडामा केहिले सडक पुग्ला र यहाँका फलफूलबाट आम्दानी गर्ने होला । दुर्गमका जनतालाई दुःख नै दुःख छ ।”

सिस्ने–१ मा पनि धेरै मात्रामा स्याउ उत्पादन भइरहेको वडाध्यक्ष बुढाले बताउनुभयो । स्याउ बिक्री नभएकै कारणले वडामा स्याउको मूल्य नै निर्धारण नगरिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । यस्तै, पुथाउत्तरगङ्गा गाउँपालिका–२ का वडाध्यक्ष जसबहादुर श्रीर्पालीले पनि सडकको पहुँच नभएकै कारण रहेक वर्ष यस गाउँपालिकाको स्याउ खेर जाने गरेको बताउनुभयो ।

पुथाउत्तरङ्गा–१, २, ५, ६, ९ र १० यी वडामा स्याउ उत्पादन भइरहेको छ । यी वडामध्ये धेरै स्याउ उत्पादन हुने २ नम्बर वडा रहेको छ । २ नम्बर वडामा सडक नपुगेकै कारण जति स्याउ फले पनि किसानको आम्दानी शून्य नै रहेको वडाध्यक्ष श्रीर्पालीले जानकारी दिनुभयो ।