• १६ भदौ २०८१, आइतबार

समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण

blog

काठमाडौँ, साउन २९ गते । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रबहादुर विश्वकर्माले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई स्वच्छ पेय जलको व्यवस्था गर्न माग गर्नुभयो । 

सांसद अनिता देवीले डेङ्गी र हैजा नियन्त्रण चुनौतीपूर्ण बनेको बताउँदै रोग नियन्त्रणतर्फ लाग्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । सांसद अनिशा नेपालीले आदिवासी जनजाति, मुस्लिम र मधेसीका सवालमा गम्भीर भएर काम गर्न सरकारसँग अनुरोध गर्नुभयो । सांसद अम्मरबहादुर रायमाझीले उदयपुर जिल्लाबाट तथ्याङ्क कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, खानेपानी डिभिजन, सहकारी डिभिजन, कार्यालय अन्यत्र नसार्न माग गर्नुभयो । 

सांसद अर्जुन नरसिंह केसीले बङ्गलादेशको राजनीतिक घटनाक्रमबाट आफूहरूले सिक्नुपर्नेमा जोड दिनुभयो । सांसद अशोककुमार चौधरीले भ्रष्टाचार जस्तो जघन्य अपराधमा पाँच वर्षको हदम्याद राखेर उन्मुक्ति दिननहुने बताउनुभयो । सांसद आस्माकुमारी चौधरीले दाङलगायत सुक्खाग्रस्त क्षेत्रमा सिँचाइको प्रबन्ध गर्न माग गर्नुभयो । सांसद कालुराम राईले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा ऐन, नियम, नियमावली, निर्देशिकाको कार्यान्वयन नभएमा दुःख व्यक्त गर्नुभयो । 

सांसद कुसुमदेवी थापाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका नटुवा समुदाय पहिचानको खोजीमा रहेका तथा तीनहजार ६२ जनाको यो लोपोन्मुख जातिको संरक्षणको माग गर्नुभयो । सांसद डा.चन्द्रकान्त भण्डारीले सुरक्षा निकाय र प्रशासन भए पनि बालबालिका हराउने प्रवृत्ति नरोकिएकामा चिन्ता व्यक्त गर्नुभयो । सांसद छिरिङ लामा तामाङले धरहरा निर्माण भएर उद्घाटन भइसक्दा पनि सञ्चालनमा नआएकोप्रति चासो व्यक्त गर्नुभयो । सांसद जावेदा खातुन जागाले बर्दिया जिल्लाका स्थानीयप्रति प्रहरी असहिष्णु बनेको आरोप लगाउनुभयो रासस