• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेट गर्नुहुँदै । तस्बिर : रासस

काठमाडौँ, साउन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग  संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री ओलीले नेपालको सङ्घीयता र लोकतन्त्रलाई सबल बनाउँदै सरकारले विकास, नीति निर्माणमा युवाहरूको सहभागिता वृद्धि र दिगो विकासका लक्ष्यहरूको प्राप्तिलाई प्राथमिकतामा राखेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न क्रियाशील रहेको बताउनुभयो । 

उहाँले दुई ठुला दलबिचको सहकार्यमा सरकार गठन भएकाले यसप्रति जनताले राखेका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । राजदूत फेनले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषयलाई राजनीतिक सहमतिका आधारमा टुङ्गो लागेकामा खुसी व्यक्त गर्दै नेपालको विकास, सुशासन र सङ्घीयताको सबलीकरणलगायत क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोग जारी रहने बताउनुभयो । उहाँले नेपाली व्यवसायीलाई बेलायतमा वस्तु निर्यातमा सघाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । रासस