• १६ भदौ २०८१, आइतबार

एक सय १८ हेक्टर जमिनमा वृक्षरोपण

blog

वृक्षरोपण गरिँदै । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, साउन २९ गते । डिभिजन वन कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानका एक सय १८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपेको छ । आर्थिक वर्ष ०८०–८१ को एक वर्षमा जिल्लाभित्र सो हेक्टर जमिनमा २ लाख २४ हजार २ सय ६२ वृक्षरोपण गरिएको हो ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इविए) मार्फत डिभिजन वन कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानका सामुदायिक वनको खाली जमिनमा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय दोलखाले जनाएको छ । 

वृक्षरोपण कार्यक्रम अन्तर्गत १६ वटा सामुदायिक वनक्षेत्रमा टिमुरका २८ हजार २९६, डालेघाँसका ४० हजार १९४,धुपीका ३ हजार,अमिस्राको ३६ हजार ६ सय, बाँसका एक हजार, निगालोका १३ हजार ८७५, तेजपातका २ हजार ३२, ,पार्टेसल्ला १२ हजार २४, अर्गेलीका ४१ हजार ०७५र अन्य ५ हजार १५० वटा गरेर २ लाख २४ हजार २६२ वटा बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख कृष्णराज न्यौपानेले बताउनुभयो ।

न्यौपानेले भन्नुभयो, “कतै बाढीपहिरो त कतै सडक खन्ने क्रममा छेउछाउका बिरुवा मासिएका छन्, त्यसैको परिपूर्तिका लागि पनि सबै ठाउँमा वृक्षरोपण गर्नुपर्ने आवश्यकता छ । आफ्नो ठाउँ आफ्नो गाउँघर सुन्दर र सफा राख्न वृक्षरोपण अभियानलाई प्राथमिकता दिनपर्ने उहाँले बताउनुभयो । 

वातावरणीय पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन आयोजना र राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी ३८ हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगर लगायतका खाली जग्गा भएका क्षेत्रहरूको पहिचान गरी लाखौँ बिरुवाहरू लगाउँदै आएको छ ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इविए) का दोलखा संयोजक विनोद थापाले आयोजनाले जिल्ला भित्र फडानी भएका र क्षयीकरण भएका जग्गामा वृक्षारोपण गरिएको बताउनुभयो । परियोजनाले वन क्षेत्र क्षयीकरण भएका र पहिरोले वन क्षेत्रमा क्षति पुगेका जग्गामा बिरुवा रोप्ने काम गर्दै आएको छ । आयोजनाले वन कार्यालय मार्फत बिरुवा व्यवस्थापन गर्न सहयोग गर्दै आएको छ । वृक्षरोपण र वातावरण संरक्षणमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखा अन्तर्गतको पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इविए) आयोजनाका कार्यक्रमहरूले सहयोग गर्दै आएको छ ।

जिल्ला संयोजक थापाले भन्नुभयो, "जलवायु परिवर्तनका कारण जिल्लामा असर पर्दै गएकाले वातावरण संरक्षणमा प्राथमिकता दिनुपर्छ ।" आयोजनाले दोलखाको शैलुङ, गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका तथा जिरी नगरपालिकाको केही वडाहरूमा चरन क्षेत्रको पुनर्स्थापना, गोठ सुधार, संरक्षण पोखरी निर्माण लगायतको लागि सहयोग गरेको उहाँले बताउनुभयो ।

अतिक्रमण गरिएको १६ हेक्टर जग्गा फिर्ता लिएर वृक्षरोपण 

डिभिजन वन कार्यालय दोलखाले गाई फार्म सञ्चालनका लागि १५ वर्षअघि दिएको भीमेश्वर नगरपालिका–८ को १६ हेक्टर रोपनी जग्गा फिर्ता लिएर वृक्षरोपण गरेको छ । 

२०६६ माघ १४ गते दक्षिण एसियाकै ठुला गाई फार्म सञ्चालन गर्ने भनेर भन्दै भीमेश्वर नगरपालिका–८ र ९ (तत्कालीन बोच र लाकुरीडाँडा गाविस) का ६ वटा सामुदायिक वनसँग कालिञ्चोक गाई फर्म तथा रिसर्च सेन्टरले सम्झौता गरेको थियो ।

डिभिजन वन कार्यालयमा सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालयले कारबाही गर्न अनुरोध गर्दै निवेदन दिएपछि कार्यालयले सम्झौता भए बमोजिम गाई फर्मले कार्य गरेको वा नगरेको विवरण उपलब्त्र गराउन वन उपभोक्ता समूहलाई पत्राचार गरेको थियो । उपभोक्ता समूहले वन कार्यालयले माग गरे अनुसार विवरण उपलब्ध गराएपछि वन

कार्ययोजना र विधान बमोजिम गाई फर्मले कार्य नगरेको पाइएकाले वन समूहलाई वन कार्यालयले सम्झौता रद्द गर्न र कारबाही गर्न पत्राचार गरेको थियो। 

जग्गा सम्झौता गरेर लामो समयसम्म गाई पाल्ने तयारीसमेत नभएपछि डिभिजन वन कार्यालयले वन नियमावली २०७९ को नियम ११९ मा व्यवस्था भए बमोजिम जिल्ला वन क्षेत्र अतिक्रमण नियन्त्रण समितिले जग्गा फिर्ता लिने निर्णय गरेको थियो । सो जग्गा फिर्ता लिएर कार्यालयले बिरुवा रोपेको थियो ।