• १६ भदौ २०८१, आइतबार

मुगुको सिप्टिचौर पर्यटकको रोजाइमा

blog

आन्तरिक पर्यटक सिप्टिचौरमा वनभोज गर्दै । तस्बिर : हरिकृष्ण ऐड

हरिकृष्ण ऐडी

मुगु, साउन २९ गते । नाग्म–गमगढी लोकमार्ग अन्तर्गत् मुगुको घुच्चिलेखमा रहेको सिप्टिचौरमा पछिल्लो समयमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको सिप्टिचौरमा प्रत्यक्ष रूपमा देख्न पाइने विभिन्न वनस्पति, पर्यटक चराका साथै पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेका छन् । 

डाबरानीखाडा सामुदायिक वन उपभोक्ता समिमिका तत्कालीन अध्यक्ष श्यामबहादुर मल्लका अनुसार यहाँ विशेषगरी चिसो शुद्ध पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उहाँले बताउनुभयो । यस क्षेत्रलाई थप आकर्षक बनाउन चौरमा फूलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गर्नलाई रारा राष्ट्रिय निकुञ्ज कार्यालयसँग समन्वय भैरहेको उहाँले बताउनुभयो । 

पछिल्लो समय रारा पुग्ने पर्यटकहरुको रोजाइमा परेको यो सिप्टिचौर पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा सङ्घ संस्थाहरुले उत्सव मनाउने, कार्यक्रम आयोजना गर्ने आएका छन्।

यो पाटनबाट सवारीसाधन भएर राराताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरु अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बसी बिहान १÷२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेको छायाँनाथ रारा नगरपालिका वडा नं ७ का तत्कालीन वडा अध्यक्ष टनबहादुर शाहीले बताउनुभयो ।