• १६ भदौ २०८१, आइतबार

अस्पतालको फोहोरले जोखिम

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, साउन २९ गते  । जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारी ज्यान जोखिममा राखेर फोहोर सङ्कलन गर्न बाध्य छन् । उसो त उपमहानगरपालिकासँग फोहोर व्यवस्थापनका लागि दिगो योजना छैन तर त्यसमा पनि स्वास्थ्य संस्थाबाट निस्केका विभिन्न खालका फोहोर वर्गीकरण नहुँदा अस्थायी व्यवस्थापनमा समेत जोखिम बढेको छ । 

जनकपुरधाम उपमहानगरपालिका मधेश प्रदेशको राजधानीसमेत हो तर राजधानीको फोहोर व्यवस्थापनको अवस्था विकराल छ । जहाँ साधारण फोहोर व्यवस्थापनको कुनै योजना छैन । त्यहाँ सयौँ अस्पतालबाट निस्केका फोहोरले जटिलता बढाएको छ । अस्पतालबाट निस्केका फोहोर न वर्गीकरण गरिएको छ, न त्यसको व्यवस्थापनमा कुनै ध्यान नै दिइएको छ । मेडिकल, अस्पताल, क्लिनिकलगायत विभिन्न खालका स्वास्थ्य संस्थाबाट निस्केका फोहोर वर्गीकरण तथा व्यवस्थापन नहुँदा ज्यान जोखिममा राखेर फोहोर उठाउन बाध्य छन् सफाइ कर्मचारी । 

उपमहानगरपालिकासँग फोहोर व्यवस्थापनका लागि दीर्घकालीन कुनै योजना छैन । जहाँ खाली ठाउँ भेट्यो त्यहीँ फोहोर विसर्जन  गर्दै आएको छ तर केही समययता भने निजी पोखरीको जग्गा लिजमा लिएर उपमहानगरपालिकाभित्रका फोहोर जति त्यहीँ फाल्ने गरेको जनकपुरधाम उपमहानगरपालिकाका सफाइ शाखाका प्रमुख श्याम ठाकुर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसअघि उपमहानगरपालिकाभित्रका विभिन्न स्थानमा रहेका खाली जमिनमा फाल्ने गरेका थियौँ । अहिले पोखरीको जमिन लिजमा लिएर फोहोर विसर्जन गर्ने गरेका छौँ । यहाँ दैनिक ३० ट्याक्टरभन्दा बढी सबै खाले फोेहोर सङ्कलन गर्ने गरेका छौँ ।” फोहोर व्यवस्थापनको दिगो योजना नहुँदा वातावरण प्रदूषण हुनुका साथै सफाइ कर्मचारीलाई समस्या भइरहेको सफाइ शाखा प्रमुख ठाकुरको भनाइ छ ।   

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ स्थित जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालिले अस्पतालबाट निस्केको फोहोर नजिकै रहेको पोखरीको डिलमा ट्याक्टरको ट्रलीमा व्यवस्थापन गर्ने गरेको छ । यस्तै सोही वडामा अवस्थित ओम दीर्घायु अस्पताल प्रालिले पनि अस्पतालबाट निस्केको फोहोर प्लास्टिकका ठुला झोलामा पोको पारेर नजिकै रहेको हजारी जनक क्याम्पसको गेटअगाडिको खाली जमिनमा फाल्ने गरेको पाइएको छ । प्रादेशिक अस्पताल वरपरका मेडिकल क्लिनिकले पनि सडक छेउछाउमा अस्पतालबाट निस्केका जोखिमयुक्त फोहोर सडक छेउमै फाल्ने गरेको उदाहरण मात्र हुन् । यस्ता जनकपुरधामका कयौँ अस्पताल र मेडिकल छन् जसले फोहोर व्यवस्थापन गर्न सकेका छैनन् सोही वडामा रहेको अर्को अस्पताल ओम दीर्घायु अस्पताल प्रालिको अवस्था पनि फरक भने छैन । त्यस्तै केयर मेडिकल, अपोलो, श्री राम अस्पतालको अवस्था पनि उस्तै छ ।

जानकी हेल्थ केयरका सञ्चालक समितिका सदस्य डा. सुरेन्द्र यादवले जानकी हेल्थ केयरको फोहोर व्यवस्थापन सही तरिकाले गर्दै आएको दाबी गर्नुभयो । उहाँले अस्पतालबाट निस्केका फोहोरबाट बायो ग्यास उत्पादन गरी खाना पकाउन प्रयोग भइरहेको र बाँकी रहेका नकुहिने प्लास्टिकजन्य फोहोरलाई अस्पतालकै निजी जमिनमा विसर्जन गर्ने गरेको बताउनुभयो । अस्तालको पूर्वपट्टि ट्याक्टरको ट्रलीमा थुपारिएको फोहोरबारे उहाँले भन्नुभयो, “त्यहाँ अस्पताल र वरपरकाले आएर फोहोर राखेर जाने गरेका छन् । हाम्रा सफाइ कर्मचारीले फोहोर छुट्याएर बिव्रmी हुने प्लास्टिकका बोतल बिव्रmी गर्छन् । बाँकी रहेको विसर्जित गर्छन् ।” 

यता जनकपुरधामका सफाइकर्मीको गुनासो छ, “फोहोर एकै ठाउँमा मिसाइँदा फोहोर सङ्कलनमा जोखिम बढेको छ । फोहोर उठाउँदा कहिले हात काटिन्छ भने कहिले खुट्टा काटिन्छ । बढी जसो मेडिकल र अस्पतालबाट निस्केका फोहोरका कारण जोखिम मोल्नु पर्छ ।’’

 यहाँ एक पटक बिहान फोहोर उठाए पनि एकछिनमा त्यो ठाउँ पुनः फोहोरले भरिएको हुन्छ । यहाँका व्यापारीलाई जति भने पनि केही नलागेको उहाँहरूको गुनासो छ । 

यसरी जैविक र अजैविक फोहोर एकै ठाउँमा मिसाउँदा जोखिम अझै बढ्ने फोहोर व्यवस्थापन तथा पैसाले फोहोर किन्ने संस्थाको नामले परिचित डोको रिसाइकलका प्रमुख कार्यकारी अधिकृत पङ्कज पजियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “भान्साको फोहोर, स्वास्थ्य संस्था तथा अन्य व्यापारिक प्रयोजनलगायत अन्य स्थानबाट निस्केका फोहोर एकै ठाउँमा मिसाउँदा मिथेन ग्यास निस्किने सम्भावना अत्यधिक हुन्छ । एक किलो मिथेन ग्यासको असर २८ किलो कार्बनडाइअक्साइड बराबरको हुन्छ । त्यसमा पनि मेडिकल तथा अस्पतालबाट निस्कने फोहोर अझै जोखिमपूर्ण हुन्छ । त्यसकारण त्यस्ता फोहोर व्यवस्थापनका लागि अस्पतालले छुट्टै व्यवस्था गरेको हुनु पर्छ वा स्थानीय तहसँग सहकार्य गरेर त्यसको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ ।” वातावरणलाई प्रदूषण हुनबाट जोगाउन र रोग फैलिन नदिन पनि फोहोरको वर्गीकरण गरेर व्यस्थापन गर्न अति आवश्यक छ ।”

यसअघि जनकपुरधाममा पनि फोहोर व्यवस्थापनका लागि डोको रिसाइकलको शाखा सञ्चालन गर्ने योजना बनाएको थियो तर पालिकाले सहकार्य नगरेका कारण सञ्चालन गर्न नसकिएको पजियार भन्नुहुन्छ ।  जनकपुरधाममा सरकारी र निजी गरी एक सयभन्दा बढी अस्पताल छन् । 

जनकपुरधामका प्रमुख मनोजकुमार साहले फोहोर व्यवस्थापनमा केन्द्रीय गुठी संस्थानले जग्गा उपलब्ध गराउन नसकेकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । उहाँले फोहोर व्यवस्थापनमा उपमहानगरपालिका अब पब्लिक प्राइभेट पार्टनरसिपमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि फोहोर व्यवस्थापनका लागि जग्गा उपलब्ध गराउन सक्ने संस्था माग गरेका थियौँ तर न्यूनतम तीन संस्था आउनुपर्नेमा दुई संस्थाले मात्र टेन्डर भर्दा स्थगित गर्नु प¥यो ।”