• १६ भदौ २०८१, आइतबार

मोरङको बेलबारीमा मृत हात्ती फेला

blog

बेलबारी (मोरङ),  साउन २९ गते । मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज बिहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

सब डिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिनुभयो ।  छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थल आउने क्रममा रहेको जनाइएको छ ।  रासस