• ११ मंसिर २०८१, मङ्गलबार

रुपन्देहीमा किसान कार्ड लागु गरिँदै

blog

बुटवल समाचारदाता

बुटवल, साउन २९ गते । रुपन्देहीका पालिकाले किसान कार्ड लागु गर्ने भएका छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा यसअघि शुद्धोधन र सियारी गाउँपालिकाले किसान कार्ड लागु गरिसकेका छन् भने अब बाँकी १४ वटै पालिकाले किसान कार्ड लागु गर्ने प्रतिबद्धता जनाएका छन् ।  रुपन्देहीमा हरेक महिना पालिकाको घुम्ती बैठक आयोजना हुने गरेको छ । यस पटक बुटवलमा हालै भएको घुम्ती बैठकमा पालिकाबिच उक्त सहमति भएको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले जानकारी दिनुभयो । 

बैठकमा वास्तविक किसानको पहिचान गरी पालिकाले किसानलाई किसान कार्ड वितरण गर्ने सहमति गरेका हुन् । बुटवल उपमहानगरपालिकाका अध्यक्ष खेलराज पाण्डेयको अध्यक्षतामा उपमहानगरपालिकाको कार्यालयमा बसेको घुम्ती बैठकले किसान कार्ड लागु गर्ने सहमति गरेको हो । 

त्यसै गरी जिल्लामा नदीजन्य पदार्थको उत्खनन, डम्पिङको अवस्था र सडकमा धुलो नियन्त्रणका विषयमा छलफल भएको बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।  

वास्तविक किसानको पहिचान हुन नसक्दा किसान मर्कामा परेकाले किसान कार्डको आवश्यकता परेको जिल्ला समन्वय समितिका प्रमुख चपाईले बताउनुभयो । किसान कार्डका लागि कार्यविधिको मसौदा तयार गर्न बैठकले कृषि र पशुविज्ञको सात सदस्यीय समिति गठन गरेको छ । 

समितिले भदौमा बस्ने घुम्ती बैठकमा मसौदा पेस गर्ने र सोही आधारमा पालिकाले किसान कार्ड वितरण गर्ने प्रमुख चपाईले बताउनुभयो । 

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले किसानलाई मलखाद प्राप्त गर्न अहिले समस्या परेको बताउँदै किसान कार्ड लागु भएपछि आवश्यकताका आधारमा मलखाद वितरणमा सहजता आउने बताउनुभयो ।

कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले किसान कार्ड लागु गर्दा वास्तविक किसानलाई फाइदा पुग्ने भएकाले सबै पालिकाले लागु गर्नु आवश्यक रहेको बताउनुभयो । त्यसै गरी घुम्ती बैठकमा प्रमुख चुनौतीका रूपमा देखा परेको पालिकाको फोहोर व्यवस्थापनका लागि सामूहिक रूपमा पहल गर्ने सहमतिसमेत भएको बताइएको छ ।