• ३१ भदौ २०८१, सोमबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

blog

काठमाडौँ, साउन २८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नुभएको छ । साउन २३ गतेदेखि सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि धारणा राख्ने क्रम जारी रहेको हो । 

बैठकमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्म स्मृतिमा उहाँप्रति उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गरिएको थियो । कोइरालाको जन्म वि.सं १९९६ साल साउन २८ गते भएको थियो । सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उहाँले निर्वाह गर्नुभएको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ । 

सोमबारको बैठकमा, केन्द्रीय सदस्यहरू  चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आआफ्नो धारणा राख्नुभएको थियो । 

यसैगरी कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि बैठकमा आफ्नो धारणा राख्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते शुक्रबार बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बताइएको छ ।