• १६ भदौ २०८१, आइतबार

सुशील कोइरालाको जन्मजयन्ती : आश्रममा आश्रित २३५ जनालाई खाना वितरण

blog

पूर्व प्रधानमन्त्री कोइरालाको जन्मजयन्तीमा आश्रममा आश्रितलाई खाना खुवाउँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन २८ गते । नेपाली कांग्रेस बाँकेले विविध कार्यक्रम गरेर नेपालगन्ज निवासी नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८६ औँ जन्मजयन्ती मनाएको छ । 

सो क्रममा स्थानीय एक आश्रममा आश्रितहरूलाई खाना खुवाउनुका साथै वृक्षरोपण पनि गरिएको नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले बताउनुभयो । 

उहाँका अनुसार नेता कोइरालाको जन्मजयन्तीको अवसर पारेर सोमबार नेपालगन्ज वडा नम्बर ९ शान्ति नगरस्थित निलसागर सेवा आश्रममा आश्रित २३५ जना व्यक्तिहरूलाई खाना खुवाइएको हो ।

पार्टीका दिवङ्गत नेताहरूको जन्मजयन्ती र स्मृति दिवसहरूमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले स्वर्गीय कोइरालालाई स्मरण गर्दै निलसागर सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाना खुवाएको सभापति गौडेलले बताउनुभयो । 

कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता गजेन्द्र हमालले नेपालको नयाँ संविधान निर्माण र शान्ति प्रक्रियामा पूर्व प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको बताउनुभयो । 

उहाँले कोइरालाको चाहना अनुसार नेपाली कांग्रेसलाई अनुशासित र इमानदार नेता कार्यकर्ताको पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो । 

पार्टीको तर्फबाट जिल्ला सभापति गौडेलले मानव सेवा आश्रमका अध्यक्ष सरिता खनाललाई १५ हजार रुपियाँ सहयोग पनि प्रदान गर्नुभयो । 

यसैबिच, स्वर्गीय कोइरालाको जन्मजयन्तीमा जानकी गाउँपालिकामा वृक्षरोपण गरिएको छ । नेपाली कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा वृक्षरोपण गरिएको हो । 

पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रीय सदस्य मैकुलाल वाल्मीकिको प्रमुख आतिथ्यतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो ।