काठमाडौँ, साउन २८ गते । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रह-पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरूको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताउनुभयो । उहाँले साझा मूल्यहरूलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदै छौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, "हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रह-पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नु छ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु । आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको । यो मेनिफेस्टोले सामूहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरूलाई अघि बढाउन सकोस् ।"
उहाँले मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउने समेत बताउनुभयो । "हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस्", उहाँले भन्नुभयो ।
उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भई देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।