• १६ भदौ २०८१, आइतबार

सहजपुर-बिपीनगर-बोगटान सडक हस्तान्तरण

blog

गोदावरी (कैलाली), साउन २८ गते । सहजपुर-बिपीनगर-बोगटान सडक कालोपत्रे गर्ने काम सम्पन्न भएसँगै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको छ । निर्माणाधीन सहजपुर-बिपीनगर-बोगटान सडकको ५० किलोमिटर पिएलआर-कुमार जेभीले निर्माण गरेको हो । 

सहजपुर-बिपीनगर-बोगटान सडकका सिनियर डिभिजनल इन्जिनियर सबिन जोशीले गत आर्थिक वर्षको असार २६ गते सडक निर्माणको सबै प्रक्रिया पूरा भएर नेपाल सरकारको मातहतमा रहेको सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिएको बताउनुभयो । कैलालीको सहजपुरदेखि डोटीको गाडेबाँजसम्म ५० किलोमिटरमध्ये तीन सय ५० मिटरबाहेक अरू सबै सडक कालोपत्रे गर्ने काम पूरा भइसकेकाले हस्तान्तरण गरिएको उहाँले बताउनुभयो । 

आयोजना कार्यालयले दिएको जानकारीअनुसार उक्त सडक खण्डमा सडक बोर्ड मार्किङ, जेब्रा क्रसिङलगायत सबै काम सम्पन्न गरेर निर्माण कम्पनीले सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको जोशीले जानकारी दिनुभयो । उक्त सडकमा क्षेत्राधिकारको विवाद, रुख कटान अनुमतिमा ढिलाइ, चट्टान, कोरोना महामारीलगायत विभिन्न बाधा व्यवधानका कारणले सडक निर्माण अवधि लम्बिएको आयोजना कार्यालयले जनाएको छ । 

वि.सं.२०७५ फागुनमा कैलालीको सहजपुरबाट डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रेका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएको थियो । सम्झौताको पाँच वर्षपछि सडक निर्माणले पूर्णता पाएको कम्पनीले जनाएको छ । कैलालीको सहजपुरबाट डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किमी सडक कालोपत्रेका लागि २०१८ डिसेम्बर ५ मा पिएलआर-कुमार जेभीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार सन् २०२१ जुन १७ मा सात मिटर चौडा कालोपत्रे र कालोपत्रेको दायाँबायाँ एक-एक मिटर सोल्जर (ग्राभेल) सडक निर्माण गरिसक्नुपर्ने हो ।

निर्माण कम्पनीले विभिन्न समस्या देखाउँदै निर्माण लम्बिँदै गएको जनाइएको छ । एक्जिम बैङ्क अफ इन्डियाको ऋण सहयोगमा निर्माण भएको सो सडक आयोजनाको सम्झौता रकम एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको जनाइएको छ । वि.सं.२०४३ देखि सहजपुर-बिपीनगर-बोगटान सडकको ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरबाट सुरु भएको सडक डोटीको बिपीनगर, अत्तरकाँडा, सिमचौर, लाना, चवराचौतारा, गगुडा, तिखात्तर, रानागाउँ हुँदै राजपुर दिपायल जोडिनेछ । आयोजना कार्यालयले सहजपुर-बिपीनगर-बोगटान दिपायलसम्म सर्वे गर्ने क्रममा एक सय आठ किलोमिटर सडकको लम्बाइ रहेको जनाएको छ । रासस