• २७ साउन २०८१, आइतबार

राष्ट्रिय परिचयपत्र बनाउनेको भीड

blog

खजुरा (बाँके), साउन २७ गते । सरकारले राष्ट्रिय परिचयपत्रलाई विभिन्न सेवासुविधा लिनका लागि अनिवार्य गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेमा स्थानीयहरुको भीड लागेको छ । प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा आउने गरेको कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम दर्ता गराएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार तीमध्ये ५४ हजार तीन सय ३३ जनाले जिल्ला प्रशासन कार्यालयमै पुगेर परिचयपत्रका लागि रजिस्ट्रेसन गराएको र अन्यले विभिन्न वडामा रजिस्ट्रेसन गराएका छन् । 

परिचयपत्रका लागि रजिस्ट्रेसन गराएर नम्बर लिएर जाने धेरै भए पनि परिचयपत्रको कार्ड लिन आउने भने निकै कम सङ्ख्यामा छन् । जिल्ला प्रशासन कार्यालयमा तयार भएर आएका ३४ हजार दुई सय ५१ परिचयपत्रका कार्डमध्ये सात हजार सात सय ४५ कार्ड मात्र सम्बन्धित व्यक्ति लिन आएको प्रजिअ रिजालले बताउनुभयो । 

छब्बीस हजार पाँच सय छ कार्ड जिल्ला प्रशासनमा आए पनि सम्बन्धित व्यक्ति लिन नआउँदा वितरण हुन बाँकी रहेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताउनुभयो । उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी-९ तथा नरैनापुर गापाका वडा नम्बर १, २, ३, ४ र ५ का लागि ‘रजिस्ट्रेसन’ को काम भइरहेको छ ।

पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका नागरिक बढी रहेका जिल्ला प्रशासन कार्यालयमा रहेको राष्ट्रिय परिचयपत्र रजिष्ट्रेसन शाखाले जनाएको छ । रासस