• १४ वैशाख २०८१, शुक्रबार

कञ्चनजङ्घा हिमालमा भारतीय आरोहीको मृत्यु

blog

कञ्चनजंगा हिमाल आरोहणका क्रममा मृत्यु हुनुभएका भारतीय आरोही नारायण इयर

काठमाडौं, वैशाख २३ गते । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । बिहीबार राति चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको आरोहण आयोजक कम्पनी पायोनियर एड्भेन्चर ट्रेकका प्रमुख पासाङ शेर्पाले जानकारी दिनुभयो । 

चुचुरो पुग्ने क्रममा शारीरिक शक्ति कमजाेर भएपछि साथमा रहेका गाइडले आधार शिविर फर्काउन खोज्दा नमानेपछि आरोहीको हाइ अल्टिच्युड 'लेक' लागेर मृत्यु भएको शेर्पाले जानकारी दिनुभयो ।

मृतकको शव आधारशिविर ल्याउने विषयमा छलफल सुरु भएको कम्पनीले जनाएको छ । आरोहणदलका अन्य सदस्यहरु मध्ये १९ जनाले सफल आरोहण गरी शुक्रबार साँझसम्म आधारशिविर फर्कने कम्पनीले जनाएको छ । 

यस महिना कञ्चनजङ्घामा भने सात आरोहण दलबाट ६८ जना आरोहीले आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका छन् ।

यस्तै, नेपालका अग्ला २६ वटा हिमाल आरोहण गर्न ११३ आरोहण दलबाट ७४ देशका ९१८ जना आरोहीले विभागबाट अनुमति लिएका छन् ।

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।