• २ माघ २०८१, बुधबार

मनाइयो गुरही पर्व (फोटो फिचर)

blog

घोडाघोडी नगरपालिका-१ सुखड बजार चोकमा आयोजित गुरही असरैना कार्यक्रम । तस्बिर : चाँदनी आचार्य

चाँदनी आचार्य
घोडाघोडी (कैलाली) साउन २६ गते ।
पश्चिम नेपालको थारु समुदायले गुरही पर्व उल्लासका साथ मनाएका छन् । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।

गुरही पर्वका अवसरमा कैलालीका अधिकांश स्थानीय तहले सार्वजनिक बिदासमेत दिएका थिए । गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझ भव्यताका साथ यो पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ ।

विभिन्न चोक, चौराहामा गुरही अस्राउनका लागि उत्साहकासाथ थारु पहिरनमा महिला बालबालिका युवायुवतीको उपस्थिति रहेको थियो ।


पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन थालिएको छ । शुक्रबार कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न चोकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गरियो । घोडाघोडी नगरभल्भन्सा समितिले आयोजना गरेको गुरही कार्यक्रममा थारु समुदायका युवायुवती, अगुवा, जनप्रतिनिधिलगायत अन्य सर्वसाधारणको सहभागिता रहेको थियो ।

घोडाघोडी नगरपालिका १ सुखडबजार चोकमा हरेक वर्ष थारु समुदाय जम्मा भई गुरही असरैना कार्यक्रम गरिएपनि यस पटक औपचारिक कार्यक्रमसहित नाचगानसमेत गरिएको छ ।

नगरभल्भन्सा समितिका अध्यक्ष बुधराम चौधरीले परम्परागतरुपमा थारु समुदायले मनाउने गुरहीपर्वलाई पछिल्लो समय भब्यरुपमा मनाउन थालिएको बताउनुभयो । गुरही पर्वका अवसरमा कार्यक्रममा नगरप्रमुख खडकबहादुर रावतले शुभकामना व्यक्त गर्नुभयो ।

थारु समुदायका युवायुवती, बालबालिका सबैले कपडाको पुतली बनाएर, विभिन्न खानेकुरा लिएर चोकमा जम्मा भएका थिए ।

प्रकृति पूजाको रूपमा गुरही पर्वलाई लिने गरिन्छ । नागपञ्चमिका दिन थारु समुदायका युवायुवती, बालबालिका शृङ्गार गरेर थालमा गुरही र चना लिएर गल्लीका चोकमा गुरही अस्राउन जाने गर्दछन्  ।


गुरही किराबाट गुरही पर्व नामाकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ । लामो पुच्छर भएको उड्ने किरा गुहरीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानिकारक किराहरू खाएर किसानहरूलाई सहयोग गर्छ । हानिकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको प्राध्यापक रघुनाथ चौधरी बताउनुहुन्छ । 

पुरुषहरू पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई सुखड चौराहा (चौबाटो) पुगेका थिए । केटीहरू तथा महिलाहरूले आफूले लगेको गुडिया (गुरही) चौराहामा गुरही असरैना लोखेको ब्यानरमा फाले भने साना बालक देखि युवाहरूले सोंटा, कोर्राले कपडाको गुडियामाथि पिटे ।

केटीहरू गुरिया (गुरही) फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस्, आफूमा भएको अवगुण जाओस् भनी कामना गरेका छन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी मागे र प्रसादस्वरुप ग्रहण गरे । शुक्रबारनै थारु तथा पहाडी समुदायका मानिसहरूले घरघरमा नागको पूजागरी नागपञ्चमिसमेत मनाएका छन् ।