• ३० भदौ २०८१, आइतबार

विद्युत महसुल घटेसँगै बिपिसीमा लागेको ताला खुल्यो

blog

आँधीखोला जलविद्युत् केन्द्र, गल्याङमा लागेको ताला खोलिए पछि संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्याल लगायत । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, साउन २६ गते ।
 बुटवल पावर कम्पनी लिमिटेड(बिपिसी)अन्तर्गत आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित र वितरित विद्युत् महसुल घटेसँगै कार्यालयमा लागेको ताला खुलेको छ । महसुल वृद्धिको विरोधमा आँधीखोला जलविद्युत् केन्द्रको कार्यालय गल्याङ, शाखा कार्यालय वालिङमा उपभोक्ताहरूले तालाबन्दी गरेका थिए ।

उपभोक्ताहरूले विभिन्न ठाउँमा गठन गरेका सङ्घर्ष समितिहरूले विभिन्न शाखामा लगाएका ताला खोलेका हुन् । आँधीखोला जलविद्युत केन्द्रमा लगाएको ताला खोले पछि सङ्घर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले आन्दोलनले सार्थकता पाएको बताउनु यो ।

उपभोक्ताको हितका लागि निर्णय गरेको भन्दै नियमन आयोगलाई धन्यवाद दिनुभयो । बिपिसीको सेवा गुणस्तरीय बनाउन तर्फ अब सबैले ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

यता वालिङ शाखामा लागेको ताला पनि खोलिएको छ । ताला खोल्दै तत्कालका लागि सबै सङ्घर्षका कार्यक्रम स्थगित गरिएको अर्का संयोजक नेत्र प्रसाद पाण्डेले बताउनुभयो । विद्युत्को गुणस्तर सुधारमा प्रभावित क्षेत्रका पालिकाहरूको सक्रियता निरन्तर हुनु पर्नेमा उहाँको जोड छ ।

नियमन आयोगले बिपिसीलाई पत्र लेख्दै पुरानै दररेटमा महसुल लिन निर्देशन दिएको हो । आयोगको बैठकले पुरानै दरमा महसुल उठाउने निर्णय गरेको पत्रमा उल्लेख छ । आयोग निर्णयसँगै बिपिसीले पुरानै दररेटका आधारमा महसुल उठाउने भएको छ ।

ताला खुलेसँगै नियमित काम सुरु भएको आँधीखोला जलविद्युत् केन्द्रका प्रमुख डोलप्रसाद खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमन आयोगले पुरानै दररेट कायम गरेको छ भने तालाबन्दी पनि खुलेका छ अब नियमित काम सुरु हुन्छ ।”

बुटवल पावर कम्पनीले उत्पादन र वितरणमा घाटा भएको भन्दै महसुल दर वृद्धि गर्नका लागि दिएको निवेदन अनुसार नियमन आयोगले एकतर्फी निर्णय गर्दै महसुल वृद्धि गरेको थियो । जसका कारण वालिङ र पाल्पाका उपभोक्ताहरू विभिन्न सङ्घर्ष समिति बनाएर आन्दोलन गर्दै आएका थिए । विवादसँगै मिटर रिडिङ समेत बन्द भएको थियो । आयोगले ४५ देखि ७० प्रतिशत सम्म विद्युत् महसुलमा वृद्धि गरेको थियो ।