• ६ वैशाख २०८१, बिहिबार

छोराद्वारा बाबुआमाको हत्या

blog

ताप्लेजुङ, वैशाख २३ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा छोराले आफ्ना वृद्ध बाबुआमाको हत्या गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना बाबु ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । 

प्रहरी प्रमुख राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरी प्रहार गरी बाबुआमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घरायसी  विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । 

 यता घटनामा संलग्न आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगिसकेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको राईले जानकारी दिनुभयो । 

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।