• १० भदौ २०८१, सोमबार

गृह मन्त्रालयको प्रतिवेदन

कार्य सम्पादनमा रुपन्देही प्रथम, धनुषा ७७ औँ स्थानमा

blog

काठमाडौँ, साउन २४ गते । गत आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा राम्रो कार्य प्रगति रुपन्देही जिल्ला प्रशासन कार्यालयको देखिएको छ । गृह मन्त्रालयको प्रतिवेदनअनुसार रुपन्देही जिल्लाको कार्य प्रगति सबैभन्दा राम्रो देखिएको हो । 

७७ जिल्ला प्रशासन कार्यालयमध्ये ९८ अङ्क प्राप्त गरी रुपन्देही पहिलो भएको हो । त्यसैगरी दोस्रोमा पाल्पाले ९७.७५ अङ्क प्राप्त गरेको छ । पहिलो, दोस्रो, तेस्रो र चौथो त्रैमासिक कार्य प्रगतिका आधारमा मन्त्रालयले कुल प्राप्ताङ्क दिई प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । 

१०० पूर्णाङ्कमा ९७.६२ अङ्क ल्याएर बागलुङ तेस्रो स्थानमा छ । त्यस्तै पश्चिमी रुकुम जिल्लाले ९७.५० अङ्क ल्याई चौथो स्थानमा छ । त्यस्तै, कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा पछाडि धनुषा जिल्ला परेको छ । सो जिल्लाले ७६.२५ अङ्क मात्र प्राप्त गरेको छ । 

७७ जिल्ला प्रशासन कार्यालयमध्ये ९८ अङ्क प्राप्त गरी रुपन्देही पहिलो भएको हो । त्यसैगरी दोस्रोमा पाल्पाले ९७.७५ अङ्क प्राप्त गरेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार वर्षमा एक पटक सार्वजनिक गरिने प्रतिवेदनअनुसार रुपन्देही सबैभन्दा राम्रो अङ्क प्राप्त गरेको जिल्ला बनेको छ । प्रमुख जिल्ला अधिकारीले हरेक आर्थिक वर्षमा मन्त्रालयका सचिवसँग कार्य सम्पादन मूल्याङ्कन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको र सोही व्यवस्थाअनुसार मन्त्रालयमा पेस भएको प्रतिवेदनअनुसार सो अङ्क प्रदान गर्ने गरिएको प्रवक्ता भट्टराईले बताउनुभयो । 

प्रतिवेदनअनुसार ७६ औँ स्थानमा उदयपुर जिल्ला रहेको छ । सो जिल्लाले ७९.२५ अङ्क प्राप्त गरेको छ । त्यस्तै, ७५, ७४, ७३ औँ मा क्रमशः दैलेख, अछाम र खोटाङ जिल्ला रहेका छन् ।  सो जिल्लाले क्रमशः ७९.६८, ८०.१८ र ८१.७५ अङ्क प्राप्त गरेका छन् । 

सोहीअनुसार सुदूरपश्चिमको कैलाली ३२ औँ स्थानमा परेको छ । सो जिल्लाले ९३.५ अङ्क प्राप्त गरेको छ । त्यस्तै, कञ्चनपुरले ९३.७५ अङ्क ल्याई ३० औँ स्थान कायम गरेको छ । त्यस्तै, हिमालपारिका जिल्ला मनाङ र मुस्ताङले क्रमशः २३ औँ स्थान प्राप्त गरेका छन् । सो जिल्लाले ९४.५ अङ्क प्राप्त गरेका छन् । 

मुलुकको सङ्घीय राजधानी रहेको काठमाडौँ जिल्ला ९४.५६ अङ्क प्राप्त गरी २१ औँ स्थानमा रहेको छ । त्यस्तै, भक्तपुर ९४.६८ अङ्क ल्याई २० औँ स्थानमा छ । ललितपुर ९६.१२ अङ्क ल्याई १२ औँ स्थानमा छ ।  


Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।