• २२ साउन २०८१, मङ्गलबार

मधेश प्रदेशमा पाँच राज्यमन्त्री थपिए : मन्त्रीको संख्या २० पुग्यो

blog

मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ। तस्बिरः लक्ष्मी चौधरी।

लक्ष्मी चौधरी

जनकपुरधाम, साउन २२ गते।  मधेश प्रदेशका नवनियुक्त पाँच राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। 

मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको उपस्थितिमा मुख्यमन्त्री सतीशकुमार सिंहले नवनियुक्त पाँच राज्यमन्त्रीलाई शपथ दिलाउनुभएको हो।

मुख्यमन्त्री सिंहले नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मोहम्मद जैद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भुकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीको रुपमा नियुक्त गर्नुभएको थियो। कांगेसका तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजकलाई उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। 

नवनियुक्त पाँच राज्यमन्त्री नियुक्त भएकै दिन साँझ शपथ लिनुभएको थियो। 

मुख्यमन्त्री सिंहले आजै कांग्रेसबाट दुई, एमाले, जनमत पार्टी तथा लोसपाबाट एक–एक गरी पाँच राज्यमन्त्री नियुक्त गर्नुभएको हो।

यसअघि प्रदेश सरकारमा अर्थमन्त्री सुनिलकुमार यादव, भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, खेलकुद तथा समाजकल्याणमन्त्री प्रमोदकुमार जैसवाल, वन तथा वातावरणमन्त्री त्रिभुवन साह,उर्जा सिँचाई तथा खानेपानीमन्त्री शेषनारायण यादव, उद्योग वाणिजय तथा पर्यटनमन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायातमन्त्री कौशल किशोर राय रहनु भएको छ भने गृह, सञ्चार तथा कानुन राजयमन्त्री शारदा देवी थापा र वन तथा वातावरण राज्यमन्त्रीमा रन्जु कुमारी मण्डल खङ्ग रहनुभएको छ। 

यससँगै मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ११ मन्त्रालय रहेका छन् जसमा मुख्यमन्त्रीसहित ११ मन्त्री र ८ राज्यमन्त्री रहेका छन्। अब प्रदेश सरकारमा नवनियुक्त पाँच राज्यमन्त्रीसहित २० सदस्यीय मन्त्रीमण्डल बनेको छ। मधेश प्रदेशमा १०७ प्रदेश सांसद रहेका छन्।