• २२ साउन २०८१, मङ्गलबार

गुल्मीमा परीक्षणका लागि चियाखेती

blog

चिया खेतीका लागि खाडल खन्दै धुँवाखोलाका कृषक । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, साउन २१ गते । गुल्मीमा चिया खेतीको परीक्षणका लागि दश हजार जति बिरुवा लगाइने भएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका ७ भुर्तुङको धुँवाखोलामा दश हजार बढी बिरुवा लगाउनका लागि खाडल खनेर तयार गरिएको छ । इलामबाट दश हजार बिरुवा परीक्षणका लागि ल्याइने कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । अहिले परीक्षणका लागि बिरुवा साउन महिनाको अन्त्यमा ल्याइने र परीक्षण सफल भएमा यसलाई व्यावसायिक रुपमा नै अगाडि बढाउने गरी तयारी गरेको भण्डारीले बताउनुभयो ।

प्रविधि परीक्षण कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको लागतमा बिरुवा खरिद गरी ल्याइने  बताउनुभयो । बिरुवा कार्यालयले उपलब्ध गराउने र खाडल खन्नेलगायतका कार्य कृषकले गर्ने भण्डारीले बताउनुभयो ।

चियाखेतीका लागि ओसिलो क्षेत्र चाहिने र हावामा पनि पानीको मात्रा हुने क्षेत्र यस खेतीका लागि उत्तम हुने ज्ञान केन्द्र गुल्मीले जनाएको छ । विशेषगरी समुन्द्री सतहदेखि  आठ सय मिटरभन्दा माथि  एकहजार आठ सय मिटरसम्म चियाखेती गर्न  सकिने कार्यालयले जनाएको छ । 

भुर्तुङको धुँवाखोलामा तमु उद्यमशील महिला समूहले बाँझिएको जग्गालाई सदुपयोग गर्नका लागि चियाखेतीको अवधारणा लिएको जनाएको छ । सो समूहको एक उपसमिति बनाएर चिया तथा अन्य बिरुवाहरुको रोपण र अध्ययनका लागि योजना बनाएको परिकल्पनाकार आशिष गुरुङले बताउनुभयो । समूहमा ३६ घर परिवार आबद्ध छन् । 

बाँझिएको १७ रोपनी जग्गामा अहिले चिया खेतीको सुरुवात गर्ने र अर्को वर्ष करिब २० रोपनी जग्गामा खेती गर्ने गरी योजना बनाएको उहाँको भनाइ छ। धुँवाखोलामा होमस्टे पनि सञ्चालमा ल्याएकाले पर्यटन प्रवर्धन गर्ने गरी समूह लागेको छ । होमस्टे र चिया खेतीको माध्यमबाट स्वरोजगार बन्ने गरी आफूहरुले योजना बनाएको उप समितिका संयोजक कर्णबहादुर गुरुङले बताउनुभयो ।

बाँझिएको जग्गालाई सदुपयोग गरी स्वदेशमा नै रोजगार बन्ने र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने तमु उद्यमशील महिला समूहका अध्यक्ष जमुना गुरुङले बताउनुभयो । 

कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीका अनुसार उक्त समूहलाई चिया तथा कफी विकास बोर्ड इलाम पठाएर अध्ययन अवलोकन गराउने बताउनुभयो। यसका साथै प्राविधिकहरूसँग अन्तर्क्रिया गराउने र चियाखेतीको बारेमा सामान्य तालिमको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।