काठमाडौँ, साउन २२ गते । गृहमन्त्री रमेश लेखकले आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको बताउनुभएको छ ।
गृहमन्त्री लेखकसँग निर्वाचन आयोगले मङ्गलबार आयोगसँग सम्बन्धित विषयहरुमा महत्त्वपूर्ण छलफल गरेको छ । उक्त छलफलमा गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो ।
उक्त कार्यक्रममा गृहमन्त्रीसमक्ष निर्वाचन आयोग, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दलसम्बन्धी एने, २०७३ को संशोधनका विषयमा छलफल भएको आयोगका सहसचिव एवम् प्रवक्ता रघुराम बिष्टले जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले कार्यक्रममा आवधिक निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ रहेको र आयोगको पारदर्शी, स्वच्छ, स्तन्त्रत, निष्पक्ष र विश्वसनीय निर्वाचन सञ्चालन र व्यवस्थापनमा कुलतापूर्वक भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो ।
यसका साथै निर्वाचन आयोगको भवन लगायतका पूर्वाधार निर्माण, निर्वाचन व्यवस्थापन विधेयक तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को संशोधनका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
यसैगरी, प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले नेपालको संविधानमा सबै तहका निर्वाचनहरूको सञ्चालन रेखदेख, निर्देशन र नियन्त्रण गर्नका लागि स्थापित स्वतन्त्र एवम् स्वायत्त आयोगको दायित्वका बारेमा प्रष्ट पार्नुभयो । साथै उहाँले निर्वाचन आयोगको कार्यालय भवनको पुनर्निर्माण, प्रस्तावित एकीकृत निर्वाचन कानुन र सोमा भएका नयाँ व्यवस्था तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई परिमार्जित गरी परिष्कृत गर्दा व्यवस्था गर्नुपर्ने मुख्य विषयहरूका बारेमा प्रष्ट पार्नुभयो ।
उक्त कार्यक्रममा निर्वाचन आयोगका आयुक्तहरू, आयोगका सचिव, गृह मन्त्रालयका सचिव तथा आयोग र गृह मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।