• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार

blog

ढाका, साउन २२ गते । बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

“हामीलाई जवाफ चाहिन्छ”, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाइको माग गर्दै अभियान चलाइरहेको “आमाहरूको आह्वान”  समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भन्नुभयो । 

अधिकारकर्मीहरूले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठुलो इस्लामवादी पार्टी ‘जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६००  नालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन्  ।

टुलीले बताएअनुसार कम्तीमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतीक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौँको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताउनुभएको हो ।

हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।

विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा हुनुभएको हो । “उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ”, पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताउनुभयो ।

हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैर न्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।

सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १००  जना अझैपनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो ।

हसिनाको सरकारले बेपत्ता र गैर न्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ  । रासस/एएफपी