• २२ साउन २०८१, मङ्गलबार

जिल्ला प्रहरी कार्यालय कास्कीमा पुस्तकालय

blog

सन्तोष सुवेदी

कास्की, साउन २२ गते । जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीले पुस्तकालय सञ्चालनमा ल्याएको छ । प्रहरी कर्मचारी, सेवाग्राही र थुनुवालाई लक्ष्य गरी जिप्रका कास्की हाताभित्र छुट्टै भवनमा पुस्तकालय सञ्चालनमा ल्याइएको हो ।

‘द लाइब्रेरी क्याफे’ नाम दिइएको पुस्तकालयमा कफीसँगै अध्ययनका लागि पुस्तकहरू उपलब्ध छन् । अपराध अनुसन्धान शाखा र जिप्रका कास्की मातहतका सबै हिरासतमा समेत पुस्तकहरू राखिएका छन् । एसपी रमेश थापाका पालामा २०७९ असार १३ गते सुरु भएको पुस्तकालयमा पुस्तक थप्न कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाले अग्रसरता लिएका हुन् ।

थापाका अनुसार पुस्तकालय आएर सर्वसाधारणले समेत अध्ययन गर्न पाउनुहुन्छ । कफी मेकरमा आफैँ कफी बनाएर सित्तैमा खान पाउने व्यवस्थासमेत मिलाएको उहाँले सुनाउनुभयो ।

पुस्तकालय व्यवस्थापनका लागि २ प्रहरी खटाइएका छन् । पुस्तकालयमा छ हजार जति पुस्तक राख्ने स्थान उपलब्ध छ । थप पुस्तक सङ्कलन भए अरू हिरासत कक्षहरूमा पनि राख्ने तयारी रहेको उपरीक्षक थापाले बताउनुभयो ।