• २२ साउन २०८१, मङ्गलबार

नारायणहिटी दरबार सङ्ग्रहालय पुग्दा

blog

प्रज्ञा भण्डारी

कक्षाः ६, उज्ज्वल शिशु निकेतन एकेडेमी

कीर्तिपुर, काठमाडौँ

काठमाडौँमा धेरै वटा सङ्ग्रहालय छन् । तीमध्ये नारायणहिटी दरबार सङ्ग्रहालय पनि चर्चित छ । त्यहाँ दैनिक सयौँ मानिस अवलोकनका लागि पुग्ने गरेका छन् । हाम्रो विद्यालयले कक्षा ५ का विद्यार्थीलाई नारायणहिटी दरबार सङ्ग्रहालयमा लैजाने निर्णय ग¥यो । विद्यालयको निर्णयबाट हामी खुसी भयौँ । शैक्षिक भ्रमणका लागि भनेर गत २०८० साल मङ्सिर २८ गते नारायणहिटी दरबार सङ्ग्रहालयमा हामीलाई लगिएको थियो । शैक्षिक भ्रमणमा लैजाने दिन हामी सबै जना विद्यालयमा जम्मा भएका थियौँ । हाम्रो टोलीमा ३३ जना थियौँ । 

बसमा कीर्तिपुर, बल्खु, रत्नपार्क हुँदै नारायणहिटी पुगेका थियौँ । दरबारको पूर्वमा नारायणको मन्दिर छ । मन्दिरको तल ढुङ्गेधारा रहेको छ । नेवारीमा ढुङ्गेधारालाई हिटी भनिन्छ । त्यही मन्दिर र हिटीको नामबाट दरबारको नाम ‘नारायणहिटी’ राखिएको रहेछ । 

मोबाइल, झोला, क्यामेरा केही पनि भित्र लैजान नपाइने रहेछ । हामी भ¥याङ चढेर दरबारभित्र प्रवेश ग¥यौँ । दरबारभित्र मरेका बाघ, मृग, अर्ना सजाइएका थिए । दरबारका भित्तामा राजारानीका तस्बिर थिए । सजाएका बाघ देखेर मलाई डर पनि लाग्यो । दरबारमा ५२ कोठा र बैठक रहेछन् । कोठालाई कक्ष भनिने रहेछ । कोठाहरूको नाम जिल्लाको नामबाट राखिएको रहेछ । 

हामीले हेरेको पहिलो कक्ष कास्की थियो । राजाले विभिन्न देशका राजा, राष्ट्रपतिलाई कास्की कक्षमा भेट्ने गर्नु हुँदो रहेछ । त्यसपछि म्याग्दी कोठा हे¥यौँ । त्यहाँ विदेशी राजदूतले राजालाई भेट्ने गर्नु हुँदो रहेछ । म्याग्दीपछि पर्वत कोठामा गयौँ । त्यहाँ दुइटा घैला र मञ्जुश्रीको मूर्ति थियो । 

त्यसपछि रोल्पा, रुकुम, दैलेख, अछाम, बैतडी, बाजुरा, जुम्ला, डोल्पा आदि कक्षमा पुग्यौँ । डोल्पा कक्षमा राजपरिवार भेला हुने चलन रहेछ । तनहुँ कक्षमा प्रधानमन्त्री र मन्त्रीले राजालाई भेट्नु हुँदो रहेछ । गोरखा कक्ष राजाको बैठक रहेछ । मुगु कक्षमा राजा त्रिभुवनका सामान थिए । लमजुङ कक्ष विदेशी नेतालाई भोज दिने ठाउँ रहेछ । गुल्मी कक्ष राजाको निजी कोठा रहेछ । धादिङ कक्ष राजाको आराम गर्ने ठाउँ रहेछ । धनकुटा कक्ष राजारानीको सुत्ने कोठा रहेछ । सिन्धुली कक्ष रानीको सिँगार गर्ने ठाउँ रहेछ । सिराहा कक्षमा राजारानीले दसैँमा आफन्तलाई टीका लगाइदिने गर्नु हुँदो रहेछ । राजगद्दी, श्रीपेच र राजदण्ड पनि देख्यौँ   श्रीपेच हिरामोती, सुनबाट बनेको रहेछ । श्रीपेचमा जडित कल्की चराको प्वाँख निकै राम्रो हुने रहेछ । 

फोहरा बगैँचामा घुम्दै त्रिभुवन सदन पुग्यौँ । त्यहाँ पहिला अर्कै घर थियो रे । २०५८ साल जेठ १९ गते राजपरिवारले भोज खाइरहेको बेला गोली चल्दा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नीराजन, राजकुमारी श्रुतिलगायत मारिएका थिए भन्ने थाहा पायौँ । राजारानी मारिएको ठाउँ हेर्दा ज्यादै नरमाइलो लाग्यो । पहिलेको भवन भत्काएर नयाँ बनाइएको रहेछ ।

त्रिभुवन सदनबाहिर धुपीका अग्ला रुख थिए । ती रुखमा चमेरा झुन्डिएका थिए । त्यहाँबाट ग्यारेज भएको ठाउँ गयौँ । त्यहाँ युवराज नीराजनको खेलौना गाडी थियो । राजा वीरेन्द्रको कार र बग्गी थियो । हामीले राजा वीरेन्द्रको हेलिकोकप्टर र प्लेन पनि देख्यौँ । नारायणहिटी हेरिसकेपछि हामी विद्यालय फर्कियौँ । घर फर्किंदा राजदरबार हत्याकान्डका बारेमा सोचिरहेँ ।    


साउन मुना २०८१