• ११ मंसिर २०८१, मङ्गलबार

इजरायली आक्रमणमा लेबनानी दुई व्यक्तिको मृत्यु

blog

बेरूत (लेबनान), साउन २१ गते । लेबनानको दक्षिणमा इजरायली आक्रमणमा सोमबार दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस क्षेत्रमा गाजा युद्ध सुरु भएदेखि हेजबुल्लाह समूहले इजरायलसँग दैनिक आक्रमण गरिरहेको छ ।

गत हप्तादेखि, तेहरानमा हमासका नेता र बेरुतमा हेजबुल्लाहका सैन्य प्रमुखको हत्याको बदला लिने वाचा गरेका हेजबुल्लाहसहित इरान र तेहरान समर्थित समूहका क्रियाकलापले मध्यपूर्वमा तनाव बढिरहेको  छ । 

आक्रमणमा दुई जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आक्रमणमा मारिएकामध्ये एकजना ‘रिसाला स्काउट्स प्यारामेडिक’ रहेको लेबनानको  सरकारी  समाचार एजेन्सीले  जनाएको छ । 

इजरायली सीमाबाट दुई किलोमिटरभन्दा कम दूरीमा रहेको गाउँ मैस अल–जबलले सीमापार झडप सुरु भएदेखि भारी आक्रमणको सामना गरेको छ भने अधिकांश बासिन्दा प्रभावित क्षेत्र छोड्न बाध्य छन् ।

सोमबार हेजबुल्लाह समूहले लेबनानमा इजरायली ‘आक्रमण र हत्या’को प्रतिक्रियामा इजरायलका सैन्य स्थलमा विस्फोटक पदार्थसहितको ड्रोन आक्रमण गरेको जनाएको छ ।

एएफपीका अनुसार अक्टोबरदेखि सुरु भएको सीमापार आक्रमणमा लेबनानमा कम्तीमा ५४९ जनाको मृत्यु भएको छ र उनीहरूमध्ये अधिकांश लडाकु र सर्वसाधारण छन् ।

इजरायली सेनाका तथ्याङ्कअनुसार इजरायलद्वारा नियन्त्रणमा लिएको गोलन हाइट्ससहितका क्षेत्रमा २२ जना सैनिक र २५ जना सर्वसाधारण मारिएका छन् । रासस/एएफपी