• २० साउन २०८१, आइतबार

काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

blog

फाइल तस्बिर ।

काठमाडौँ, साउन २० गते । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगमा इरानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार नेपाल इरानसँग ३–२ को सेटमा पराजित भयो । जारी लिगमा नेपालको यो पहिलो हार हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले इरानलाई १६–२५, २५–१६, २३–२५, २५–१५, १३–१५ को नतिजा सुम्पिएको हो ।

हारसँगै नेपालले तीन खेलबाट ६ अङ्क बनाएको छ । यसअघि नेपालले श्रीलङ्कालाई ३–० र भारतलाई ३–२ को सेटमा हराएको थियो । लगातार तेस्रो जित निकालेको इरानले चार खेलबाट सात अङ्क बनाएको छ । नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार नै भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । हारसँगै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ । आयोजक नेपाल, इरान, भारत र श्रीलङ्का अन्तिम चारमा पुगेका छन् । सेमिफाइनलमा खेल्ने प्रतिद्वन्द्वीको निर्क्योल भने अन्य खेलले गर्नेछ ।