काठमाडाैं, साउन २० गते । नेपाली काँग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने दावी गर्नुभएको छ।
जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संसदमै आफू २ वर्ष प्रधानमन्त्री र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुभएकाले पनि यो गठबन्धन टिकाउ रहेको पुष्टी गर्ने तर्क गर्नुभयो । तत्काल गठबन्धन भित्र कुनै किसिमको असन्तुष्टी हुने सम्भावना टाढासम्म नरहेको उहाँको भनाई थियो ।
पूर्व उपप्रधानमन्त्री निधीले वर्तमान गठबन्धनले राजनीतिक स्थायित्व मुलुकलाई प्रदान गर्ने बताउनुभयो । यसले देशमा विकासका बाटाहरु समेत प्रशस्त गर्ने दावी उहाँको छ ।उहाँले दुई ठूला दल मिलेर बनेको यो सरकारले मुलुक राजनीतिक, आर्थिक, सामाजिक तथा शैक्षिक विकासको दिशामा काम गर्ने स्पष्ट पार्नुभयो ।