• २० साउन २०८१, आइतबार

मर्दी बेस क्याम्पमा बेपत्ता स्वेडेनी नागरिकको अवशेष फेला

blog

भेटिएका अवशेष र बेपत्ता माइकल लिउ

फडिन्द्र अधिकारी 

लेखनाथ, साउन २० गते । कास्कीको माछापुच्छ्रे  गाउँपालिकाको मर्दी हिमालको आधार शिविर (बेस क्याम्प)मा शुक्रवार मानव अवशेष फेला परेको छ । अवशेष गएको पुस १४ गतेदेखि सम्पर्कविहीन हुनुभएका २२ वर्षीय माइकल लिउको भएको पुष्टि भएको छ । 

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले अवशेष लिउकै भएको पुष्टि भएको जानकारी दिनुभयो । “स्विडेनमा रहेको उहाँको परिवारले भेटिएका कपडाको ब्रान्ड, मोबाइल आदिबाट लिउकै भएको पुष्टि गर्नुभएको छ,” थापाले भन्नुभयो, “आज प्रहरी टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ ।” बेसक्याम्पको लाम डाँडामा हाड, आइफोन र केही कपडा फेला परेका छन् । 

वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा प्रहरी बेस क्याम्प हिँडेको हो । हेलिकोप्टरबाट गए पनि अवशेष रहेका स्थानमा तीन घण्टामा हिँड्नुपर्ने अवस्था रहेको जनाउँदै प्रहरी प्रमुख थापाले थप्नुभयो, “अहिले हेलिकोप्टर उपलब्ध भएन । टोली पुग्न दुई दिन लाग्छ ।”

आइतबार पालिकामा भएको छलफलपछि माछापुच्छ्रे गाउँपालिकाले स्थानीय भेडी गोठाला गोविन्द गौतम र होटेल व्यवसायी चिमनारायण गौतमलाई फेरि त्यहाँ पठाइएको छ । उहाँहरूले शुक्रवार अवशेषका फोटो र भिडियो पठाउनुभएको थियो । थप जानकारी उपलब्ध गराउनका लागि गोविन्द र चिमनारायणलाई फेरि त्यहाँ पठाइएको माछापुच्छ्रेे गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष हरिबहादुर क्षत्रीले जानकारी दिनुभयो । 

गएको पुस १४ गते मर्दी हाइ क्याम्पबाट शनिवार बिहान ४ बजेतिर बेस क्याम्प हिँड्नुभएका २२ वर्षीय लिउ बेलुका होटेल नफर्किएपछि उहाँको खोजी सुरु भएको थियो ।